News Desk
पोखरा — २६ पुस २०७८
पोखरा , गण्डकी प्रदेशमा रहेका पाँचदलीय गठबन्धनका नेताले स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनसम्मै गठबन्धन कायम रहने बताएका छन् । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक रहेको उनीहरूले बताए । माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा गठबन्धनका प्रदेश समितिले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा केन्द्रीय नेताले समेत गठबन्धन कायम रहनुपर्ने बताए । कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्माले संवैधानिक संकट यथावतै रहेकाले संविधान संरक्षणका लागि पाँच दल एक ठाउँमा उभिएको बताए । ‘गठबन्धनलाई निरन्तरता नदिने हो भने प्रतिगमनलाई रोक्ने सामर्थ्य कसैसँग हुँदैन,’ उनले भने, ‘अहिले नै गठबन्धन टुट्नुपर्छ भन्ने परिस्थिति पनि छैन, आवश्यकता पनि होइन ।’ कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रिय सभाको निर्वाचनसम्म मात्रै गठबन्धन कायम रहने भन्दै दिएको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा नभएको उनको भनाइ छ ।
माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले प्रतिगमनको विरुद्ध संविधान कार्यान्वयनको पक्षमा एकजुट हुन गठबन्धन बनेको बताए । गणतन्त्रको रक्षा र संविधानको कार्यान्वयनमार्फत विकास र समृद्धिको बाटो स्पष्ट बनाउन पनि आगामी चुनावसम्म गठबन्धन रहने उनको दाबी छ । ‘संसद् विघटनको कदम प्रतिगामी थियो भनेर पुष्टि भइसकेको छ,’ उनले भने, ‘एमाले अध्यक्ष ओलीले प्रतिगमन होइन भनेर जिकिर गरिरहने हो भने उनको अस्तित्व मेटिँदै जान्छ ।’ उनले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारले सहजै जित हासिल गर्ने बताए ।
नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठले दलहरूबीचकै सहमतिले संविधान बन्न सम्भव भएको अवस्थामा असंवैधानिक बाटो समात्नेविरुद्ध गठबन्धन चुनावसम्मै जाने बताए । उक्त पार्टीका अर्का पोलिटब्युरो सदस्य श्रीनाथ बरालले स्वाधिन राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवाद उन्मुख अर्थ व्यवस्थामार्फत विकास र समृद्धिका लागि पनि गठबन्धन टुट्न नहुने विचार व्यक्त गरे । जनता समाजवादी पार्टी (जसपा) का प्रदेश उपाध्यक्ष हेमबहादुर थापाले गठबन्धन कायम राख्न कुनै कसर बाँकी नराख्ने बताए । भने, ‘गठबन्धनप्रति प्रतिबद्ध छौं । यसको निरन्तरताको पक्षमा छौं ।’ राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष शंकर बरालले प्रतिगमनको खतरा अझै नटरेकाले विचार, दृष्टिकोण, प्रणालीमा मतभिन्नता हुँदाहुँदै गठबन्धन कायम रहिरहेको बताए । ‘सडकबाट राजा ल्याउने कोसिसहरू भएका छन्, छिमेकी देशले पनि खेलिरहेको छ,’ उनले भने, ‘लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न पनि गठबन्धनले निरन्तरता पाउँछ ।’
( कान्तिपुर दैनिक )