मुगुमा एक वर्षदेखि थन्कियो अक्सिजन प्लान्ट
News Desk
Jan-10 , 2022 तारिख 01:54 बेलुका

मुगु — २६ पुस २०७८    

मुगु , जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम एक वर्षदेखि अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारले ४० लाख रुपैयाँ खर्च गरी खरिद गरेको अक्सिजन प्लान्ट अहिले जिल्ला अस्पतालमा छ । अक्सिजन प्लान्ट मेसिनको प्रयोग नहुँदा कोभिडका बिरामीलाई अक्सिजन दिन गाह्रो भएको स्वास्थ्यकर्मीको गुनासो छ । प्रतिघण्टा ४० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको उक्त अक्सिजन प्लान्ट एक वर्षदेखि अस्पतालको कुनामा थन्किएपछि कोरोनाका बिरामी समस्यामा परेका छन् । अक्सिजन प्लान्ट खरिद प्रक्रियामा अनियमितता भएको भन्दै प्रदेश लेखा समितिले छानबिन सुरु गरेपछि प्लान्ट जडानमा समस्या भएको जिल्ला स्वास्थ्य सेवा प्रमुख उमेश गौतमले बताए । ‘समितिले पनि एक वर्ष बित्न लाग्दासमेत छानबिन टुंगोमा पुर्‍याएको छैन,’ उनले भने, ‘प्लान्ट जडान नहुँदा पार्टपुर्जा बिग्रने जोखिम भयो ।’

प्रदेश सरकारको ४० लाख रुपैयाँ आर्थिक सहयोगमा हायात्त प्रालिले चीनबाट प्लान्ट खरिद गरेको हो । अस्पतालमा अक्सिजन प्लान्ट नहुँदा जुम्ला, सुर्खेत र नेपालगन्जबाट सिलिन्डर ल्याएर कोरोना संक्रमितको उपचार गर्नुपरेको गौतमले बताए । जिल्लामा कार्यरत एक गैरसरकारी संस्था हेरेन्डेकले झन्डै १ करोड रुपैयाँमा खरिद गरी अर्को अक्सिजन प्लान्ट जिल्ला अस्पताललाई उपलब्ध गराए पनि प्राविधिक अभावले जडान हुन सकेको छैन । जिल्ला अस्पतालमा अहिले १ सय १० वटा अक्सिजन सिलिन्डरमध्ये ७० वटा मात्र भरेका छन् । कोरोनाको तेस्रो लहर भित्रिए पनि जिल्ला अस्पतालले अक्सिजन प्लान्ट र आइसोलेसनको व्यवस्था गर्न नसकेको स्थानीय कमल शाहीले बताए ।

१३ हजारले अझै लगाएनन् खोप

जिल्लाका ४ स्थानीय तहका करिब १३ हजार व्यक्ति कोरोनाविरुद्धको खोपबाट वञ्चित भएका छन् । १८ वर्षमाथिका करिब ५२ हजार व्यक्तिमध्ये ८८ प्रतिशतले पहिलो मात्रा र ५५ प्रतिशतले मात्र दोस्रो मात्रा पाएका छन् । १२ देखि १८ वर्ष उमेरका भने सबै बालबालिकालाई खोप लगाइसकिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्लामा करिब ९ हजार जनालाई मोडर्ना खोप लगाइएको स्वास्थ्य सेवा व्यवस्थापक गौतमले बताए । उनका अनुसार एक साताभित्र जिल्लाभरि टोली खटाएर १८ वर्षमाथिका सबैलाई खोप लगाउने कार्यालयको योजना छ । मुगुलाई खोपयुक्त जिल्ला बनाउन असोजदेखि अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।            

( कान्तिपुर दैनिक )