नारायणीमा अक्सिजन प्लान्ट जडान
News Desk
Jan-12 , 2022 तारिख 12:54 बेलुका

पर्सा — २८  पुस २०७८    

पर्सा , नारायणी अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । दुई साताअघि प्लान्ट जडान गरिएको हो । अब अस्पताल अक्सिजनमा आत्मनिर्भर भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताए । २० टन क्षमताको प्लान्टले दैनिक २ हजार २ सय ठूलो सिलिन्डरमा अक्सिजन उपलब्ध गराउन सक्छ । हाल अस्पताललाई दैनिक ५० सिलिन्डर हाराहारीमा मात्र आवश्यक छ । ‘गत वर्ष कोरोना महामारीको दोस्रो लहरमा बिरामीको चाप हुँदा हामीलाई दैनिक ५ सय सिलिन्डरसम्म अक्सिजन आवश्यक परेको थियो,’ उनले भने, ‘अब तेस्रो लहर आइहाले पनि यो प्लान्टले माग धान्न सक्छ ।’

पहिलो कोरोना महामारीका बेला पर्सादेखि सर्लाहीसम्मका संक्रमित यहाँ भर्ना भएका थिए । अस्पतालमा त्यतिबेला अक्सिजनको चरम आवश्यकता भएको थियो । दोस्रो लहरको बीचतिर २/३ दिन अक्सिजनको अभाव बेहोर्नुपरेको थियो । अब त्यस्तो अभाव नहुने डा. सिंह दाबी गर्छन् । उनले अर्को प्लान्ट पनि जडान गर्न लागिएको जानकारी दिए । ‘योबाहेक संसदीय कोषबाट निर्माणाधीन अर्को अक्सिजन प्लान्ट पनि सञ्चालनमा आए हामीसँग पर्याप्त अक्सिजन उपलब्ध हुनेछ,’ उनले भने । अस्पतालमा अहिले संक्रमित भर्ना नरहेको डा. सिंहले बताए ।            

( कान्तिपुर दैनिक )