प्रदेशभर संक्रमण बढ्दो
News Desk
Jan-12 , 2022 तारिख 01:11 बेलुका

विराटनगर — २८  पुस २०७८    

विराटनगर , दोस्रो चरण सुरु भएदेखि नै महानगर विराटनगरमा कोभिड–१९ संक्रमणको जोखिम सदैव कायम रहेको देखिएको छ । प्रदेश १ को कुल संक्रमितमध्ये आधीभन्दा बढी विराटनगरको भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए । सामाजिक विकास मन्त्रालयको गत मंगलबारदेखि आठ दिनको तथ्यांक केलाउँदा कुल ३ सय ३८ संक्रमितमध्ये १ सय ९१ (५६.५१ प्रतिशत) विराटनगरकै छन् । बाँकी १ सय ४७ जना (४३.४९ प्रतिशत) संक्रमित मोरङकै विभिन्न ठाउँ, झापा, सुनसरी र अन्य जिल्लाका हुन् । यो अवधिमा झापामा २ पुरुषको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा देखिन्छ । यादवले भने, ‘दोस्रो चरणमा यहाँ दैनिक संक्रमण दर शून्यमा भने विरलै झरेको देखिन्छ ।’ प्रदेशमा उक्त अवधिमा संकलित २ हजार ७ सय ८३ नमुनामध्ये ३ सय ३८ (१२.१५ प्रतिशत) पोजिटिभ रिपोर्ट आएको छ । ‘अस्पताल एवं प्रयोगशालास्तरमा थोरै संख्यामा नमुना संकलन भइरहँदा यति देखिएको हो, समुदायस्तरमा परीक्षण गर्दा स्थिति अझ प्रस्ट हुन्छ,’ प्रयोगशालाका वरिष्ठ निरीक्षक शेखर मिश्रले भने ।

दोस्रो चरण सुरु भएदेखि कोभिड–१९ संक्रमणको दर विराटनगरमा ८ प्रतिशतभन्दा मुनि कमै झरेको पीसीआर परीक्षण प्रयोगशालाका विज्ञहरूले बताएका छन् । विराटनगरकै ४ प्रयोगशालाको साताभरिको रिपोर्ट विश्लेषण गर्दा (गत बुधबारदेखि मंगलबारसम्मको) १ हजार ५ सय ८४ मध्ये १ सय ८५ ( ११.६८ प्रतिशत) पोजिटिभ देखिएका छन् । ‘दोस्रो चरणमा दैनिक औसत ५० जनाको परीक्षण गर्दा ३/४ पोजिटिभ देखिने गरेको छ,’ कोसी अस्पतालको कोरोना प्रयोगशालाका वरिष्ठ निरीक्षक ललित चौधरीले भने, ‘निकै कम नमुना संकलन भएका बेला मात्र शून्य पोजिटिभ वा संक्रमण दर कम देखिएको हो ।’ कोसी अस्पतालमा २० पुसमा ३० र २१ पुसमा १८ नमुना संकलन हुँदा सबैको शून्य आएको उनले बताए । ‘यी दुई दिनबाहेक सधैं पोजिटिभ देखिएकै छ,’ चौधरीले भने । उनको अनुसार कोसीको प्रयोगशालामा पुसको अन्तिम साता दैनिक औसत संक्रमण दर २४ प्रतिशतलाई नाघेको देखिन्छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म गम्भीर प्रकृतिका १२ संक्रमित विभिन्न अस्पतालको आईसीयू, भेन्टिलेटर र एचडीयूमा उपचार गराइरहेका छन् । प्रदेशमा मंगलबारसम्म होम आइसोलेसनमा ३ सय ७५ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेशका विभिन्न अस्पतालमा संक्रमितका लागि २ सय ९८ जनरल बेड, १ सय ३८ आईसीयू, १ सय १७ भेन्टिलेटर, २ सय ५१ आइसोलेसन बेड र २ सय ९३ एचडीयू उपलब्ध छ । प्रदेशभरका ९ वटाभन्दा बढी प्रयोगशालाहरूमा मंगलबारसम्म ४ लाख ९७ हजार ३ सय जनाको स्वाब परीक्षण हुँदा १ लाख ९ हजार ५३ मा (२१.९३ प्रतिशत) पोजिटिभ देखिएका हुन् ।              

( कान्तिपुर दैनिक )