करोडौं ठग्ने २ पक्राउ
News Desk
Jan-12 , 2022 तारिख 03:59 बेलुका

काठमाडौँ — गिरोह सञ्चालन गरी करोडौं ठगी र जालसाजी अभियोगमा अदालतबाट दोषी ठहर भई फरार बाह्रबिसे–७ घुमथाङका रामहरि थापा सोमबार पक्राउ परेका छन् । उनी सीआईबीको खोजी सूचीमा थिए । उनका सहयोगी मामा ससुरा बाह्रबिसे–३ खोर्सानबारीका मेषबहादुर श्रेष्ठ पनि पक्राउ परेका छन् । अर्का सहयोगी कुमार श्रेष्ठ फरार छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामप्रसाद शर्माको इजलासले गत मंसिर १३ मा तीनै जनालाई २–२ वर्षको सजाय तोकेको थियो । थापामाथि सर्वोच्च अदालतमा ठगी धन्दाका थप मुद्दा रहेकाले त्यसमाथि थप छानबिन भइरहेको प्रहरी स्रोतले बतायो ।

मुख्यतः थापा साझेदारलाई अप्ठेरोमा पारेर आफन्तको नाममा रकम असुल्ने वा घरजग्गा रोक्का गराउने नियतले संगठित रूपमा लागेको पाइएको प्रहरी स्रोत बताउँछ । ‘थापाको विषयमा प्रहरी र अदालतमा अन्य उजुरी परेकाले त्यसको छानबिन भइरहेको छ,’ सीआईबीका एक अनुसन्धान अधिकृतले भने, ‘यो त सामान्य हो, करोडौं ठगेको सूचना प्राप्त भएको छ ।’ रोका भइसकेको र रकम नभएको चेक दुरुपयोग गरी कम्पनी साझेदारलाई फसाएको आरोपमा उनीहरूमाथि मुद्दा परेको थियो । थापाले २०७६ जेठ २० मा कम्पनी रजिस्ट्रार र राष्ट्र बैंकलाई पत्राचार गरी खाता रोक्न निवेदन दिएका थिए । तर सोही कम्पनीबाट मेषबहादुर र कुमारको नाममा क्रमशः २ करोड ४० हजार र ६५ लाख रुपैयाँको चेक जारी गरेका थिए ।                    

( कान्तिपुर दैनिक )