News Desk
पोखरा — एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन् । अध्यक्षका लागि भएको मतदानमा विपक्षी दामोदर बैरागीलाई हराउँदै उनी निर्वाचित भएका हुन् । ९ सय २० मध्ये ८ सय ८५ मत खसेकोमा गुरुङले ४ सय ५६ मत प्राप्त गरे भने बैरागीले ४ सय ७ मत पाए । निर्वाचित गुरुङ गण्डकी प्रदेशसभा सदस्य हुन् । उनी यसअघि एमाले कास्कीको उपाध्यक्ष थिए । कास्कीमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि प्यानल नै बनाएर मतदान भएको थियो । १०औं जिल्ला अधिवेशन सुरू भएको पाँचौं दिनमा मंगलबार मतदान भएको हो । बुधबार विहानपदाधिकारीको मतगणना सकिएको थियो ।
कास्कीमा पार्टीका उपमहासचिव पृथ्वीसु्ब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी पक्षधरबीच प्रतिस्पर्धा भएको थियो ।निर्वाचित गुरूङ पहिला खगराज पक्षधर नै भए पनि अहिले क्याम्प परिवर्तन गर्दै पृथ्वीसुब्बा प्यानलबाट चुनाव लडे । जिल्ला उपाध्यक्षमा पृथ्वीसुब्बा पक्षकै तेजनारायण अधिकारी निर्वाचित भए । उनीसँग खगराज पक्षकी प्रभा कोइराला प्रतिस्पर्धामा थिइन् । सचिवमा खगराज पक्षका बैनबहादुर अधिकारी, उपसचिवमा दर्शन लामा र नवराज ओझा विजयी भएका छन् ।
( कान्तिपुर दैनिक )