सरोकारवालाहरुबीच स्वास्थ्य अधिकार सम्बन्धी अन्तक्रिर्या सम्पन्न
News Desk
Jan-17 , 2022 तारिख 02:52 बेलुका

 माघ २ गते, भक्तपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार समुह चाँगुनारायण भक्तपुरको समन्वयमा चाँगु न.पा. वडा नं ७ स्थित प्राथमिक स्वास्थ्य चौकी कार्यालयको बैठक हलमा “स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालावीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्कृयामा नेपालको संविधानमा प्रावधान भए अनुसारको स्वास्थ्य अधिकार सम्बन्धी संवैधानिक व्यवस्था विद्यमान स्वास्थ्य निती र सोको कार्यान्वयन, गुणस्तर स्वास्थ्यका लागि योजना, सामुदायिक स्वास्थ्य केन्द्रको विद्यमान अवस्था, कोभिड १९ को प्रभावको बेला स्वास्थ्य गतिविधी तथा योजना का साथै स्वास्थ्य सम्बन्धी विविध बिषयमा छलफल भएको छ । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष ज्ञान बहादुर के.सी.ले नेपाल सरकारले स्वास्थ्य र शिक्षाको विकासका लागि पर्याप्त निती तथा योजनाहरु लिएको बताउदै नगरपालिकाबाट हुने योजनाहरु विस्तारमा ढिलासुस्ती हुनुमा प्रकृयागत समस्या प्रमुख रहेको उल्लेख गरे । साथै उनले र कार्यक्रमहरु ल्याउन र योजनाहरु कार्यान्वयनमा माथिल्लो तहबाटै जोड नभएको जानकारी गराउदैं आफ्नो वडाबासीको स्वास्थ्य सुढुकरणमा आफु सधै प्रतिबद्धताका साथ लागि परेको जनाए ।

स्वास्थ्य कार्यालयले दिने निःशुल्क सेवा सुविधाहरुले मात्रै नागरिकहरुले पर्याप्त मात्रामा लाभान्वित नहुने र आवश्यक औषधिउपचारको सुविधा थप गर्दै जानुपर्ने आवश्यकता रहेको औंल्याउदै यसमा सबैको साथ र सहयोगको पनि आवश्यकता रहेको उनले बताए । रेविज विरुद्धको उपचार सेवा, सर्प डंसको उपचार सेवा, ड्रक्स सेवा, ल्याब सेवा, एक विद्यालय एक नर्स सेवा लगायतको व्यवस्थामा आफुहरु लागि परेको उनले जानकारी दिए । साथै उनले यस वडा कार्यालयमा सहरी स्वास्थ्य केन्द्रको स्थापना गर्न आवश्यक रहेको र सोकालागि सम्बन्धित निकायहरुमा पहल गर्ने कार्य पनि भैरहेको उनले उल्लेख गरे ।

त्यसै गरि स्वास्थ्य चौकीका प्रमुख बलराम तिमिल्सिनाले नेपाल सरकारले प्रदान गरेको सेवाहरु सन्चालन भई रहेको, नगरपालिका स्वास्थ्य शाखाले समयमा नै औषधिहरुको उपलब्ध नगराएको कारणले निःशुल्क दिने भनिएको औषधि हरु समेत प्रदान गर्न नसकिएको बताउदै नेपाल सरकारले निःशुल्क स्वास्थ्य सेवा प्रदान कार्यविधि ल्याएको र शुल्क लिएर चौकीमा नै औषधिहरुको व्यवस्था नभएको जानकारी गराए । यसका साथै स्वास्थ्य चौकीको सेवा विस्तार सबैले चाहेको तर भौतिक रुपमा पनि पर्याप्त स्थानको आवश्यकता हुने भएको हुनाले स्वास्थ्य केन्द्रको भवन निर्माण आवश्यक रहेको बताए ।

कार्यक्रमका सहभागिहरुले निःशुल्क पाउने औषधि उपचारको व्यवस्था, आवश्यक थप औषधिहरुको व्यवस्था, कोरोना खोप नलगाएकाहरुलाई खोप दिने व्यवस्था, कोरोना विरुद्ध नगरपालिकाले गरेका र ल्याउने योजना के के हुने र नगरपालिकाले स्थापना गरेको चाँगुनारायण नगरपालिकाका सबै चाँगु नारायणबासीहरुको पायक पर्ने स्थानमा नभएको र सेवा सुविधा लिन गएका सेवाग्राहीले पनि उल्लेख गरिएको सेवा सुविधा पनि नपाएको गुनासो एवम् सुझाव राखेका थिए ।

कार्यक्रममा मानव अधिकार समुहका संयोजक बच्चुराम न्यौपानेले स्वास्थ्य अधिकार नागरिकहरुको सबै भन्दा प्रमुख अधिकार भएको हुनाले नागरिकले स्वास्थ्य सेवा पाउनबाट बञ्चित नहोउ भन्ने कुरामा सचेत हुनु पर्ने बताए । साथै उनले अझै पनि नागरिकहरु सचेत रहदै स्वास्थ्य अधिकारको सवालमा अग्रपँक्तिमा उभिनुपर्ने र इन्सेकको साथ र सहयोग सधै भई रहेमा मानव अधिकार समुहले मानव अधिकारको सवालमा नागरिकहरुको गुनासोहरु समाधान गर्न सरोकारवाला निकायहरुलाई घच्घचाई रहने उल्लेख गरे ।