ईश्वरलाल प्रतिष्ठानद्वारा उद्योगपति लक्ष्मीदासको निधनप्रति दुःख व्यक्त
News Desk
Jan-22 , 2022 तारिख 05:04 बेलुका


काठमाडौं । वरिष्ठ उद्योगपति एवम् पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधनप्रति ईश्वरलाल प्रतिष्ठानले गहिरो दुःख व्यक्त गरेको छ । 

लक्ष्मीदासको निधनबाट नेपाली उद्योग–व्यवसाय र सामाजिक क्षेत्रमा खपुरणीय क्षति पुगेको भन्दै प्रतिष्ठानले दुःख व्यक्त गरेको हो । प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठले आज शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मानन्धरको निधनप्रति दुःख व्यक्त गरेका हुन् । 

नेपाली राष्ट्रिय राजनीतिदेखि, उद्योग व्यवसाय र नेपाल भाषाको संरक्षणमा विशेष योगदान पुर्याउँदै आएका व्यक्तित्वको निधनबाट देशले नै क्षति व्यहोरेको प्रतिष्ठानले बताएको छ । ‘प्रतिष्ठानको आजीवन सदस्य समेत रहनुभएका मानन्धरलाई प्रतिष्ठान र नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘आफूले गरेको व्यवसायलाई प्रतिष्ठान बनाउनुपर्छ भन्ने मान्यता राख्नुहुने स्वर्गीय लक्ष्मीदास मानन्धरले आफ्नो जीवनलाई व्यवसायका साथै सामाजिक क्षेत्रमा समेत समर्पित गर्दै आउनुभएको थियो ।’

स्व. ईश्वरलाल श्रेष्ठसँग समेत लक्ष्मीदास मानन्धरको व्यावसायिक एवम् सामाजिक क्षेत्रका गतिविधिहरूमा सहकार्य हुने गरेको स्मरण गर्दै प्रतिष्ठानले विज्ञप्तिमा लेखेको छ, ‘नेपालको चेम्बर आन्दोलनमा महत्वपूर्ण र प्रभावकारी भूमिका निर्वाह गरी योगदान गर्नुभएका मानन्धरले नेपालमा गलगाँड रोगको नियन्त्रणका लागि आयोडिनयुक्त नुन भित्र्याएर अर्को गुण लगाउनुभएको छ ।’ आयोडिनयुक्त नुन सर्वसाधारणको चुल्होसम्म पुर्याउनका लागि मानन्धरले नै योगदान गरेको प्रतिष्ठानले जानकारी दिएको छ । 

‘उहाँकै अगुवाइमा अहिलेको साल्ट ट्रेडिङ लिमिटेडको स्थापना गर्नुभएको थियो । वि.सं. २०२० भदौ २० गते साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्थापना हुँदा उहाँ संस्थापक सञ्चालकका रूपमा रहनुभएको थियो,’ प्रतिष्ठानले भनेको छ, ‘साल्ट ट्रेडिङको संस्थापक सञ्चालक रहनुभएका मानन्धर पछिल्लो समय सो संस्थाको अध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै उहाँले ईश्वरलाल श्रेष्ठसँगको सहकार्यमा कुष्ठरोग निवारणका लागि पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।’

वि.सं. १९८५ साल मंसिर ४ गते काठमाडौंको ठहिटीमा जन्मिएका मानन्धर नेकपा एमालेबाट २०५८ सालमा राष्ट्रियसभामा चुनिएका थिए । साथै नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्षसम्म बनेका मानन्धर नेपालका एक प्रतिष्ठित उद्योगपति भएको विज्ञप्तिमा उल्लेख छ । 

‘ठोरीबाट नुन खरीद गरी नेपालभित्र कारोबार गर्दै गर्नुभएका उहाँ सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन गठन गरेसँगै उक्त संस्थामा जोडिनुभएको थियो । नेपालमै पहिलो पटक मोजा उद्योग खोल्नुभएका उहाँले पेट्रोलपम्प सञ्चालन, आयात–निर्यात, प्लास्टिक उद्योग, खाद्य गोदाम, राइस मिल आदिमा लगानी गरी नेपालको औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको थियो,’ विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘प्रतिष्ठान उहाँको आत्माको चिरशान्तिको कामना गर्दै दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भन्ने कामना गर्दछ ।’

९३ वर्षीय मानन्धरको बिहीबार काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको थियो । बिहीबार राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई तत्काल धुम्बाराहीस्थित ह्याम्स अस्पताल लगिएको थियो । अस्पताल पुर्याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

स्वर्गीय मानन्धरको शुक्रबार काठमाडौंको शोभाभगवतीमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।