News Desk
मकवानपुर — १७ माघ २०७८
मकवानपुर , वाग्मती प्रदेशसभाअन्तर्गत २ संसदीय समितिको नेतृत्व छनोट गर्न सोमबार हुने निर्वाचनमा एमालेले मात्र उम्मेदवारी दर्ता गराएको छ । प्रदेशसभाको अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति छनोट गर्न निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवारी दर्ता गर्नुपर्ने थियो । दुवै समितिमा एमालेको बहुमत रहेका कारण सत्तारूढ गठबन्धनले उम्मेदवार नै दर्ता गराएनन् । एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई उम्मेदवार बनाएको छ ।
वैशाखदेखि रिक्त रहेको अर्थ समितिमा २० सदस्यमध्ये एक सभापति चयन हुनेछन् भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ सदस्यमध्ये एक सभापति चयन हुनेछन् । अर्थ समितिका सदस्यहरू सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहेका कारण उनीहरू निर्वाचनमा सहभागी हुने छैनन् । अर्थ समितिका तत्कालीन सभापति सुरेश नेपाल प्रदेश सरकारको मन्त्री बनेसँगै उक्त पद रिक्त थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा मन्त्री बनेसँगै उक्त पद पनि रिक्त छ ।
प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार अर्थ समिति सभापति पदको निर्वाचन सोमबार मध्याह्न १२ बजे र शिक्षा समिति सभापति पदको निर्वाचन दिनको २ बजेका लागि तय छ । समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । स्रोतका अनुसार गठबन्धन निर्वाचन कार्यक्रममै अनुपस्थित हुने भएको छ । ‘गठबन्धनमा यसबारे कुनै छलफल नै भएको छैन । उक्त समितिमा रहेका सदस्यहरूलाई पनि केही वास्ता छैन । त्यसकारण निर्वाचन प्रक्रियामै सहभागी नहुने तयारी भइरहेको छ,’ स्रोतले भन्यो । गठबन्धनको उम्मेदवार नहुँदा एमालेका उम्मेदवार सर्वसम्मत हुने निश्चित छ । दुवै समितिमा एमालेका १२–१२ सांसद छन् ।
( कान्तिपुर दैनिक )