News Desk
काठमाडौँ — १७ माघ २०७८
काठमाडौँ , नेकपा (माओवादी केन्द्र)का नेता एवम् सत्ता गठबन्धनको अध्ययन कार्यदलका सदस्य नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने विषयमा सहमति भइनसकेको बताएका छन् । उनले एमसीसी पास नभए सत्ता गठबन्धन तोडिन्छ भन्ने कुरासमेत भ्रममात्रै भएको दाबी गरेका छन् ।
‘कुनै भ्रममा नपरौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको छैन, आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन,’ नेता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन । यथास्थितिमा कमसेकम हाम्रो पार्टी त्यसको पक्षमा छैन ।’
नेता श्रेष्ठले माओवादी केन्द्रले गठबन्धनको एकता कायम राख्न चाहेको बताएका छन् । ‘हाम्रो पार्टीले राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्छ र त्यसको निम्ति दृढ रुपमा प्रतिबद्ध छ । हाम्रा लागि अन्य सबै विषय त्यस मातहत रहनेछन्,’ नेता श्रेष्ठले भनेका छन् ।
( कान्तिपुर दैनिक )