उखु तानातान गर्दै उद्योग
News Desk
Feb-02 , 2022 तारिख 11:41 बिहान

महोत्तरी — १९ माघ २०७८    

महोत्तरी , सर्लाहीको ईश्वरपुर–५ नरेशखोरमा उखु खेती गर्दै आएका रामनाथ महतो उखु लिएर महोत्तरी आइपुग्छन् । आफ्नै जिल्लामा चिनी उद्योग सञ्चालन भइरहे पनि महतोलाई महोत्तरीको गौशाला–१ रामनगरमा रहेको एभरेस्ट चिनी उद्योगले उखु महोत्तरी नै ल्याउन निकै पछ्यायो । सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर र महोत्तरीको एभरेस्ट दुवै उद्योगले उनलाई एकै समयमा उखु कटान पुर्जी दिएका थिए । उखु काटेर हरिवन लैजान ठीक पारेको उखु महोत्तरी ल्याउन उद्योगले निकै जोडबल गरेपछि आफूले उखु महोत्तरी ल्याएको महतोले जानकारी दिए । पाहिले १० बिघामा उखु खेती गर्दै आएका महतोले अहिले तीन बिघामा सीमित गरेका छन् । गएका वर्षमा उखुको भुक्तानी लिन निकै संघर्ष गर्नुपरेपछि खेती घटाएको उनी बताउँछन् । उखु खेती गर्दै आएको जग्गामा अहिले उनले गहुँ, मकै र तरकारी खेती गर्न थालेका छन् । यस वर्ष भने एभरेस्ट उद्योगले उखुको भुक्तानी समयमै दिएर किसानलाई लोभ्याएको उनको भनाइ छ । एभरेस्टमा ३ पटक उखु ल्याएको र सय क्विन्टल उखुको भुक्तानी पनि लिइसकेको उनले बताए । 

‘दुवै उद्योगसँग सम्बन्ध बनाइराख्न उखु बाँडेर दिँदै आएको थिएँ,’ महतोले भने, ‘अहिले एभरेस्टले समयमै पैसा र कटान पुर्जी दिएकाले यतै ल्याएँ ।’ गौशाला नगरपालिका–८ का रामप्रताप साह पनि उखु खेती घटाएर अहिले अन्य बाली लगाउन थालेको बताउँछन् । चार बिघामा लगाउँदै आएको खेती महँगो बन्दै गएको र पैसा पनि समयमै नपाएको दुःखले खेती नै कम गर्दै लगेको उनले जानकारी दिए । गाउँका धेरै मानिस उखु खेती छाडेर अन्य बालीतर्फ आकर्षित भएको उनको भनाइ छ । समयमै मल नपाउने, बीउ महँगो पर्ने, जोत्न महँगोमा ट्र्याक्टर लगाउनपर्ने र गोडमेल गर्नसमेत मजदुर लगाउनपर्ने भएकाले सरकारले कायम गरेको उखुको मूल्यले लागत पनि नउठ्ने किसानले बताउने गरेका छन् । सरकारले तोकेको मूल्य नभएको र त्यही लिन पनि संघर्ष गर्नुपरेकाले किसान यसबाट वाक्क बनिरहेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहले बताए ।

महोत्तरीमा अहिले किसानलाई भुक्तानी लिन कुनै समस्या नभएको र उद्योगले प्रत्येक साता भुक्तानी गरिरहेको उनले जनाए । ‘उखु दिएपछि पैसा लिन किसानले आन्दोलन नै गर्नुपर्थ्यो,’ उनले भने, ‘यस वर्ष एभरेस्टले भटाभट भुक्तानी गरिरहेकाले किसानले केही राहत महसुस गरेका छन् ।’ प्रत्येक वर्ष उखु घट्दै गएपछि उद्योगलाई उखु पर्याप्त नहुँदा किसानलाई खुसी बनाउन उद्योग लागेको कुशवाहको बुझाइ छ । गएको वर्ष महोत्तरीको ७ हजार बिघामा भएको उखु खेती यस वर्ष ६ हजार बिघामा सीमित भएको उनले बताए । सरकारले उखुको मूल्य नबढाउने र उद्योगले किसानलाई सहुलियत नदिने हो भने उखु खेती झनै घटेर जाने कुशवाहको दाबी छ । केही वर्षअघि ५८ लाख क्विन्टलसम्म उखु क्रसिङ गर्दै आएको एभरेस्टले यस वर्ष मात्रै २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । ४ महिनासम्म चौबीसै घण्टा सञ्चालन हुने उद्योग अहिले मुस्किलले अढाई महिना चल्छ । उखु किसानलाई प्रोत्साहन गर्न यस वर्ष किसानको भुक्तानी पनि प्रत्येक ५/५ दिनमै गरिएको उद्योगले जनाएको छ । पुस १५ बाट सञ्चालनमा आएको उद्योगले ९ लाख उखु क्रसिङ गरिसकेको बताएको छ ।                              

( कान्तिपुर दैनिक )