सचेतनामुलक भर्चुअल अन्तर्कृया गर्दै मनाईयो क्यान्सर दिवस
News Desk
Feb-05 , 2022 तारिख 10:52 बिहान

काठमाडौं- नेपाल क्यान्सर अस्पतालले क्यान्सर दिवसको अवसरमा भर्चुअल माध्यमबाट सचेतनामुलक अन्तर्कृया गरेको छ । अस्पतालले नेपाल क्यान्सर सहयोग समुहसँगको संयुक्त   आयोजनामा उक्त कार्याक्रम आयोजना गरेको हो । नेपाल महिला चेम्बर अफ कमर्श, ललितपुर चेम्बर अफ कमर्श लगायतका अन्य सामाजिक संघ संस्थाहरु समेतको एक्येबद्धता एवम् सहयोग माझ आयोजित उक्त कार्यक्रम माझ नेपाल  क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष एवम्  वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठ र नेपाल  क्यान्सर अस्पतालका डिपार्टमेण्ट हेड एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा. गिसुपनिखा प्रसिकोले क्यान्सर रोगको वर्तमान अवस्था, उपचार प्रकृया, नविन प्रविधि र विश्वव्यापी श्रिँखला, नेपालमा प्रविधि र विशेषज्ञताको उपलब्धता, लागत र सेवा आदी बिषयलाई समेटेर कार्यपत्र प्रस्तुती सहित क्यान्सरका विविध आयाम बारे चर्चा परिचर्चा गरेका थिए ।  

सो अवसरमा क्यान्सर विशेषज्ञ डा. श्रेष्ठले नेपाल जस्ता अल्पविकसित देशमा स्वास्थ्य पहुँच कमजोर हुँदा गरिव तथा अल्पविकसित देशका नागरिकहरु बढि जसो क्यान्सरको उच्च जोखिममा रहदै आएको उल्लेख गर्दै उनले नेपालमा राष्ट्रिय क्यान्सर अध्ययन प्रतिष्ठानको टडकारो रुपमा खाँचो रहेको समेत औंल्याए ।  साथै,  डा. श्रेष्ठले क्यान्सर जस्ता नसर्ने रोगको बिषयमा नीतीगत तहमा गर्नुपर्ने सुधारका काम र पछिल्लो समयमा नेपालमा क्यान्सरको उपचार सस्तो र सहज बन्दै गएको उल्लेख गरे ।  

त्यसैगरि क्यान्सर विशेषज्ञ डा. प्रसिकोले रेडियो थेरापी उपचार पद्धती, मेशिनको उपलब्धता, अस्पतालबाट प्राप्त हुने सेवा आदीको बिषयमा जानकारी दिदै धनी देशमा २५० लाख जनसंख्याका लागि १ मेशिन  प्रयोगमा आउने गरेकोमा गरीब मुलुकमा भने ५० लाखलाई १ मेशिनको भरपर्नुपर्ने अवस्था रहेको बताए । साथै, डा. प्रसिकोले डाईक्नोस्टिक गरे शुरुवाती चरणको क्यान्सर निको हुने बताउदै सरकारी अस्पतालमा चाप भएर बेलैमा उपचार पाउन नसक्दा क्यान्सर   उपचार पछि थप खर्चिलो र जटिल बन्दै जाने तर्फ ध्यान दिन जरुरी रहेको बारे सचेत गराए ।  

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुणस्तर तथा नियमन शाखा प्रमुख डा. मदनकुमार उपाध्यायले कार्यपत्र तथा  अन्तर्कृयामा विशेषज्ञद्व्यबाट प्रस्तुत सन्दर्भहरु राष्ट्रिय तहमा नीति निर्माण तथा कार्यक्रम तर्जुमा गर्न सहयोगसिद्ध हुने उल्लेख गर्दै विदेशी विशेषज्ञको भुक्तानी प्रकृयामा देखिएको समस्या लगायतका अन्य सवालहरुमा निकास  निकाल्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

नेपाल महिला चेम्बरकी केन्द्रिय अध्यक्ष उर्मिला श्रेष्ठ, ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्य, 
समेतको उपस्थिती रहेको सो कार्यक्रममा नेपाल क्यान्सर अस्पतालकी संचालक स्वरुपा श्रेष्ठ, बिषयगत चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु, महिला एवम् युवा उद्यमी, सामाजिक संघ संस्थाका प्रतिनिधी आदीको सहभागीता रहेको थियो ।  

उक्त कार्यक्रमका सहभागीमध्येबाट केहीले  क्यान्सर रोग बारे आ आफ्नो जिज्ञासा राखेका थिए भने विज्ञद्वयले त्यहाँ उठेका सवाल उपर जवाफ पेश गरेका थिए ।  नेपाल क्यान्सर सहयोग समुहका अध्यक्ष गणेशभक्त श्रेष्ठले सहजकर्ताको भूमिका निभाएको उक्त कार्यक्रममा बोल्ने अधिकांशले क्यान्सर रोग बारे जतिसक्दो बढि सचेतना अभिब्रिद्धी गर्नुपर्ने धारणा राखेका थिए ।