News Desk
काठमाडौँ — २५ माघ २०७८
काठमाडौँ , बाघका बारेमा धेरै कुरा भए तर २०६७ मंसिर ७ मा रुसको सेन्टपिटर्सबर्गमा लजालु बाघका बारेमा गरिएको संकल्प लक्ष्य इतिहासकै पहिलो र निर्णायकसमेत थियो । बाघ पाइने १३ देशका सरकार प्रमुखहरू बसेर गरेको त्यो संकल्प (लक्ष्य) १२ वर्षमा यसै वर्ष पूरा हुँदैछ– ‘टी एक्स २’ अर्थात् दोब्बर बाघ । नेपाल, भुटान, भारत, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, चीन, रुस, बंगलादेश, थाइल्यान्ड र लाओस बाघ पाइने देश हुन् । प्राकृतिक बासस्थानमा ३ हजार २ सयको हाराहारीमा सीमित रहेका बाघ दोब्बर बनाउन सबै देशले आ–आफ्ना कदम चाले, जसका कारण लक्ष्यअनुसार संख्यामा समेत बढोत्तरी भएको छ । त्यसको खुसियाली साट्न र ‘टी एक्स टु’ (डबल्ड टाइगर) को समीक्षा गर्न १३ वटै देशका सरकार प्रमुख आगामी भदौ २० मा रुसकै अर्को सहर भ्लादिभोस्तोकमा भेला हुँदै छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाघको दोस्रो सम्मेलन आयोजना गरेका हुन् ।
त्यही अवसरमा नेपालले डब्लूडब्लूएफ इन्टरनेसनलको टी एक्स टु अवार्डसमेत ग्रहण गर्नेछ । बाघ संरक्षणमा सफलता हात पारेका बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम् टाइगर रिजर्भलाई उक्त अवार्ड दिने निर्णय डब्लूडब्लूएफले गत साता गरेको थियो । बाघ दोब्बर गर्ने संकल्प घोषणा हुँदा नेपालमा बाघको संख्या १ सय २१ थियो । सन् २०१८ को गणनाअनुसार संख्या २ सय ३५ पुगेको छ । अहिले फेरि गणना भइरहेको छ । निकुञ्ज विभागका महानिर्देशक रामचन्द्र कँडेल अबको गणनाबाट दोब्बरको संकल्प पूरा हुने विश्वास व्यक्त गर्छन् । ‘समुदाय र साझेदार संस्थाको सहयोगका कारण हामी बाघको संख्या बढाउन सक्षम भएका हौं,’ उनले भने । आगामी फागुनभित्र नेपालका निकुञ्ज र आसपासको क्षेत्रमा बाघ गणना सकिँदै छ ।बाघलगायतका वन्यजन्तुको संरक्षणमा सहयोगी अग्रणी संस्था डब्लूडब्लूएफले १२ वटा तरिका अवलम्बन गरिँदा बाघ दोब्बर गर्ने लक्ष्य पूरा हुन लागेको विश्लेषण गरेको छ । बाघ पाइनेमध्ये धेरै देशमा संख्या बढेका बेला दक्षिण पूर्वी एसियामा भने संख्या घट्नुलाई डब्लूडब्लूएफले चिन्ताजनक भनेको छ । १२ वर्ष अवधिमा नेपाल, भुटान, चीन, भारत र रुसमा अपेक्षाभन्दा छिटो बढेको पाइएको छ ।
कसरी बढ्यो त बाघको संख्या ? यसबीचमा बाघको विचरण क्षेत्रमा निर्बाध ओहोरदोहोर बढाउन विभिन्न देशहरूले फरक–फरक मिहिनेत गरेका छन् । नेपालमा पनि बाघको आउजाउ हुने मार्गहरूको संरक्षण र सम्भावित चोरी सिकारी रोक्न प्राथमिकता दिइएको थियो । बर्दियाको खाता जैविक मार्ग टाइगर कनेक्टिङका लागि उदाहरणीय मार्ग हो । यो जैविक मार्ग भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरीसँग जोडिन्छ । पछिल्लो अध्ययनअनुसार यो मार्गमा ५ वटा बाघ नेपाल–भारत ओहोरदोहोर गर्ने गरेका छन् ।यस्तै, रुसी सुदूरपूर्वमा लियोपार्ड नेसनल पार्कको भूमि छ । जुन करिडोरले बाघ चीनको उत्तरपूर्वमा अवस्थित अमुर टाइगर र लियोपार्ड नेसनल पार्क जान सुरक्षा प्रदान गरेको छ । एक दशकभन्दा बढीको संरक्षण प्रयासपछि त्यहाँ बाघको संख्या बढ्नुका साथै कनेक्टिभिटीले बाघलाई दुवै देशबीच आवतजावत गर्न सक्षम बनाएको छ ।
२५ सय मिटर उचाइमा भेटियो पाटे बाघ
डब्लूडब्लूएफले यसबीचमा वनमा आश्रित स्थानीयसँग साझेदारी गरेर संरक्षण योगदानलाई अघि बढाउन मद्दत गरेको छ । स्थानीय समुदायको प्रयासले बर्दियाको खाता जैविक मार्ग १ सय १५ हेक्टरबाट ३ हजार ८ सय हेक्टरमा विस्तार भएको छ । त्यस क्षेत्रमा वन पुनःस्थापना कार्यक्रमका साथै गोबर ग्यासलगायतका वैकल्पिक ऊर्जा कार्यक्रमलाई जोड दिइयो । जसले गर्दा वनमा परेको दबाब कम भयो, दाउराको खपत कम हुँदाको फाइदा वन संरक्षणमा भयो । अहिले यो जैविक मार्ग विश्वमै परिचित छ । र यही क्षेत्र भएर बाघ नेपाल र भारतमा स्वतन्त्र घुम्छन् । खाता जैविक मार्ग समितिसमेत यसै वर्ष रुसमा ‘टी एक्स २’ बाट पुरस्कृत हुँदै छ । बाघका अंग–प्रत्यंगको अवैध व्यापारविरुद्ध लड्न विभिन्न अपरेसनहरू सञ्चालन भए । अन्तर्राष्ट्रिय निकायले पनि सहयोग गर्यो । मुलुकभित्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न स्थानमा सुराकी परिचालन गरेर बाघका अंगको कारोबारमा संलग्नहरूलाई नियन्त्रणमा लिएको छ । यही बीचमा १५ वर्षदेखि फरार हुम्लाका कुन्जोक लामालाई समेत काठमाडौंमा पक्राउ गरेको थियो ।
बाघ संरक्षणलाई प्रभावकारी बनाउन भारतमा जस्तै प्रधानमन्त्रीको अध्यक्षतामा २०६७ मा राष्ट्रिय बाघ संरक्षण समिति बनाइएको छ भने वन्यजन्तुको अपराध नियन्त्रण गर्न वनमन्त्रीको अध्यक्षतामा चार सुरक्षा निकायका प्रमुखसमेत रहेको राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समिति, निकुञ्ज विभागका महानिर्देशकको संयोजकत्व र भन्सार र हुलाकका महानिर्देशक र नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिलगायत रहेको केन्द्रीयस्तरको वन्यजन्तु अपराध नियन्त्रण इकाई बनाएर कार्यान्वयनमा ल्याइएको छ । यस्तो इकाई जिल्लास्तरमा समेत छन् । विश्वव्यापी रूपमा बाघको संख्या बढ्नुमा आश्रयस्थलको विस्तारलाई समेत महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ । बासस्थान बढाउने गतिविधिमा ध्यान दिइएको छ । नेपालले बाघकै लागि भनेर बर्दिया निकुञ्जसँगै बाँके निकुञ्ज स्थापना गर्यो भने पर्सा निकुञ्जलाई विस्तार गर्यो । बाघको आउजाउलाई फराकिलो पार्न निकुञ्जभित्रका बस्तीहरूलाई स्थानान्तरणसमेत गरिएको छ ।बाघको आश्रयस्थल विस्तार हुँदा आहारा प्रजातिसमेत बढे । तराईको समथर भाग र चुरेमा मात्र रहेका बाघ नेपालमा पहाडी क्षेत्रमा समेत रेकर्ड भएका छन् ।
बाघ संरक्षणमा बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार
भारतको राजाजी टाइगर रिजर्भको पश्चिममा बाघ पुनःस्थापित गर्न स्थानान्तरणको रणनीति लिइयो । पहिलो चरणमा उत्तराखण्डको कोरबेट टाइगर रिजर्भबाट केही भाग त्यहाँ लगियो । जसका कारण बाघको संख्या विस्तार हुन मद्दत पुगेको छ । अहिले राजाजीमा बाघको संख्या ३० भन्दा बढी छ । काजकस्तानमा ७० वर्षअघि नै बाघ लोप भयो । तर, काजकस्तानले अहिले पनि माया मारिसकेको भने छैन । सन् २०२५ भित्र बाघलाई पुनः फर्काउने गरी काम गरिरहेको छ । बाघको बासस्थान विस्तारलाई अघि बढाएको छ, त्यसको सुरुवात ४ वर्षअघि नै गरेको छ । सन् २०३३ सम्ममा १० वटा बाघलाई स्थानान्तरण गर्ने अभियान जारी छ । त्यहाँको इले–बल्खास आरक्षले १ सय २० बाघ धान्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । ‘स्मार्ट पेट्रोलिङ’ एक हाइटेक प्रविधिको उपयोग हो । जुन गस्ती र अन्य अनुगमनका लागि प्रयोग गरिन्छ । यो विश्वव्यापी रूपमै प्रयोगमा ल्याइएको छ । वन्यजन्तुहरूलाई सिकारी र अन्य खतराहरूबाट जोगाउन नेपालमा पनि रेन्जरहरू र सुरक्षार्थ तैनाथ सेनाले यसलाई अवलम्बन गरेका छन् । सन् २०१२ पछि यसको विस्तार गरिएको हो ।
कहाँबाट आयो ३२०० मिटर उचाइमा पाटेबाघ ?
नेपालमै हेर्ने हो भने मानिसको जनघनत्व जहाँ बढी छ, बाघको बासस्थल पनि त्यही क्षेत्रमा छ । संख्या बढेसँगै मान्छे र पशुमाथि बाघको आक्रमण बढेको छ । यो साझा समस्या हो । बर्दिया र चितवनमा हेर्ने हो भने बाघ मान्छेको बस्तीभित्र छिरेर गरेका घटनाहरू कम देखिन्छन् । तर, उसको बाटो (बासस्थान) र आहार तथा बच्चा भएको कोर क्षेत्रभित्र फेला परेका मान्छेमाथि भने आक्रमण गरेको छ । विशेषज्ञहरू बाघका आनीबानी बुझाउन सकिए मात्र पनि सम्भावित घटनामा न्यूनीकरण गर्न सकिने बताउँछन् । मानिससँग साझेदारी गर्ने प्रभावकारी तरिका खोज्न सकिए मानव–बाघ सहअस्तित्व कायम हुने उनीहरूको बुझाइ छ । भारतको पिलिभीत टाइगर रिजर्भमा स्वयंसेवी समुदाय प्रतिक्रिया टोली बनाएर द्वन्द्व घटाउने र बाघको व्यवहार बुझ्ने तालिम दिइएको छ । बाघ आक्रमणका धेरै घटना भएका बर्दिया निकुञ्ज क्षेत्रमा पनि जोगिन विभिन्न सन्देशमूलक सूचना सञ्चारमाध्यमबाट प्रचार–प्रसार गरिएको प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ बताउँछन् ।
क्षति बढी भएका क्षेत्रमा मान्छे र पशुको बिमासमेत निकुञ्जले सुरु गर्दै छ भने वन्यजन्तुबाट बस्तीलाई जोगाउन पालिकाहरूसँगको सहकार्यमा निकुञ्जले एकीकृत फेन्सिङ (मेसजाली) गर्ने, बस्तुभाउलाई चराउने चलनबाट विस्थापित गरी उन्नत जातका पशुपालनमा जोड दिने र डाले घाँस रोप्न पनि प्राथमिकता दिइएको छ । निकुञ्जले द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापन रणनीतिक योजना २०७८–२०८३ पनि लागू गरेको छ । ५ वर्षे योजनामा निकुञ्ज, सरोकारवाला निकाय र समुदायबीचको सहकार्यबाट द्वन्द्व न्यूनीकरण गर्ने तथा स्थानीयको जीविकोपार्जनमा सुधार कार्यक्रमलाई जोड दिइएको छ । बाघको बासस्थान पुनःस्थापना गर्ने कार्यमा दक्षिणपूर्वी एसियाली मुलुकमा थाइल्यान्ड अग्रणी छ । डब्लूडब्लूएफ थाइल्यान्डले बाघ र आहार प्रजाति दुवैको संख्या बढाउन दीर्घकालीन रिकभरीलाई सफल पार्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु र वनस्पति संरक्षणको थाई विभागसँग साझेदारी गरेको छ । सँगै, महत्त्वपूर्ण चरन क्षेत्रहरू पुनःस्थापित गर्दै छ । जसका कारण बाघका आहार प्रजातिहरू मुन्टजाक, मृग प्रजाति र गौरको संख्यामा वृद्धि भएको छ ।
बदलिँदै बाघका बानी
डब्लूडब्लूएफ मलेसियाले ‘प्रोजेक्ट स्ट्याम्पेड’ नामक महत्त्वाकांक्षी पहल सुरु गर्यो जसले स्थानीय आदिवासी समुदायद्वारा गठित गस्ती टोलीहरूको संख्यामा ठूलो वृद्धि भयो । बासस्थानको क्षति र क्षयसँगै, पासोको बढ्दो प्रयोगले दक्षिणपूर्वी एसियामा बाघलाई संकटतिर डोर्याइरहेको थियो । ती टोलीहरूले गस्ती गर्ने, पासो हटाउने र चोरी सिकारको तथ्यांक संकलन गर्न थाले । गस्ती टोलीहरूले बेलुम–टेमेन्गोर वन कम्प्लेक्समा पासोहरू ९४ प्रतिशतले घटाएका छन् । बाघ संरक्षण गर्ने प्रयासमा बाघ पाइने देशहरूलाई समर्थन गर्ने अर्को नवप्रवर्तन भनेको ‘कन्जर्भेसन एस्योर्ड टाइगर स्ट्यान्डर्ड’ (क्याट्स) हो । ‘क्याट्स’ भनेको कुनै संरक्षित क्षेत्रले बाघ संरक्षणमा हासिल गर्न सक्ने उच्चतम उपलब्धिको मापन हो । संसारका संरक्षित क्षेत्रमध्ये चितवन निकुञ्ज बाघ संरक्षणमा सन् २०१५ मा पहिलो पटक क्याट्स उपाधिबाट प्रमाणित भएको थियो ।
क्याट्स उपाधिका निम्ति निकुञ्ज व्यवस्थापन, संरक्षण, स्थानीय समुदाय, वन्यजन्तुको बसोबासको अवस्था, पर्यटन र बाघ व्यवस्थापनजस्ता ६ वटा पाटाहरूको विगत र भविष्यलाई आधार मानिएको हुन्छ । यसले बाघ साइटहरू व्यवस्थापन गर्न उत्तम अभ्यासहरू गरेको हुन्छ । सन् २०२० मा भारत सरकारले ५० वटा टाइगर रिजर्भमा ‘क्याट्स’ अपनायो, जसले विश्वका ६० प्रतिशत बाघ कभर गर्छन् । अर्को वर्ष सरकारले यीमध्ये १४ वटा टाइगर रिजर्भलाई क्याट्स स्वीकृत गरेको घोषणा गरेर ‘टी एक्स टु’ को लक्ष्य हासिल गर्ने घोषणा गरियो । ‘भुटान फर लाइफ’ परियोजनामार्फत त्यहाँको सरकारले डब्लूडब्लूएफ भुटानको सहयोगमा देशभर प्रभावकारी रूपमा व्यवस्थित र दिगो रूपमा वित्त (फाइनान्स) परिचालन गरी संरक्षित क्षेत्रहरूको नेटवर्क सुरक्षित गर्दै आएको छ । यसले बाघ करिडोरको सुरक्षा गरिरहेको छ । नेपालले पनि साझेदारी संस्थाहरूको आर्थिक सहयोगमा बाघ संरक्षण, बासस्थान विस्तार र आहार प्रजातिका लागि वातावरण व्यवस्थापनको काम गर्दै आएको छ ।
( कान्तिपुर दैनिक )