मह ब्रान्डिङले किसान खुसी
News Desk
Feb-08 , 2022 तारिख 12:56 बेलुका

लुम्बिनी — २५ माघ २०७८    

लुम्बिनी , रूपन्देहीको सैनामैना नगरपालिका–४ का लेखनाथ न्यौपानेले विगत चार वर्षदेखि मौरीपालन गर्दै आएका छन् । विदेशबाट फर्केर कृषिमा होमिएका उनले पहिलोचोटि नै १० घार किने । ५ हजारका दरले किनेको घारमा २ घार मात्र बच्यो । घाटा लागे पनि सिकाइ भयो भन्ने सोचले उनले पुनः मौरीपालनलाई नै अघि बढाउँदै गए । हाल उनी ५० घार मौरीका मालिक छन् । कर्म गर्दै जाँदा सफलता र सिकाइ दुवै पाएको उनले बताए । ‘मौरीपालन सजिलो भने छैन,’ उनले भने, ‘मिहिनेत अन्य पेसामा भन्दा बढी छ ।’ सिजनअनुसारका पुष्परस गराउन घार बोक्दै विभिन्न जिल्ला धाउनुपर्ने बाध्यता मौरीपालन व्यवसायमा रहेको उनले जानकारी दिए । व्यावसायिक रूपमा अघि बढेका न्यौपानेले एकै घारबाट ३० देखि ३५ किलोसम्म मह उत्पादन हुने गरेको बताए । आफूले वार्षिक ३ लाखभन्दा बढी जोगाउन सफल भएको र अहिले मौरीपालनमा सैनामैना नगरपालिका लुम्बिनी प्रदेशकै अग्रणी पालिका भएको उनको दाबी छ ।

नगरभरिका मौरीपालकको सक्रियतामा सैनामैनामा सैनामैना मौरीपालक कृषक समूह स्थापनासमेत भएको छ । उक्त समूहमा १८ जना सदस्य छन् । जसको अध्यक्षमा लेखनाथ न्यौपाने छन् । उनीसँगै रहेका अन्य सदस्यले उत्पादन गरेको मह नगरपालिकाको समन्वयमा बिक्री गर्नेदेखि सामूहिक मौरीपालन र प्रशोधनका लागि पालिकाको सहयोग पाउने गरेको न्यौपाने बताउँछन् । नगरपालिकाले विभिन्न समयमा घारमा ५० प्रतिशत अनुदान दिने, तालिम प्रदान गर्ने र समूहलाई ३ लाख रुपैयाँसम्म सहयोग प्रदान गर्दै आएको छ । नगरपालिको चुरे क्षेत्रमा मौरी उत्पादनको मुख्य पुष्परस प्रदायक चिउरीका रूख रोपी पालिकाले आफूहरूको कृषि कर्ममा महत्त्वपूर्ण सघाउ गेको उनको भनाइ छ । २० हजार चिउरीका रूखमध्ये १० प्रतिशत बचे पनि मौरीलाई रस पाउन सहज हुने न्यौपानेले बताए । १८ जना सदस्य आबद्ध समूहमा १७ सय मौरीका घार व्यावसायिक रूपमा पालन गरिराखेको उनले जानकारी दिए । न्यौपानेजस्तै सैनामैना–३, पर्सलका टंकबहादुर खत्रीले व्यावसायिक रूपमा ५ सय घार मौरीपालन गरेका छन् । 

मौरी पाल्न थालेको १० वर्ष भएको उनले बताए । न्यु मलमला मौरी उद्योग नाम राखी पाँचवटा घारबाट सुरु गरी पोहोर २ सय र यस वर्ष ५ सय पुर्‍याएको उनको भनाइ छ ।  ‘गर्दै जाँदा रस पस्दै गयो,’ उनले भने, ‘मौरीको रसले आम्दानी हुने भएपछि आफूमा कामको रसले घार थपिने भएको छ ।’ एकै ठाउँ राख्न नमिल्ने भएपछि स्थानीय पालिकाकै ६ स्थानमा मौरीका घार राखिएको उनले बताए । ती घार राखेबापत खत्रीले मासिक १ हजारदेखि ३ हजार रुपैयाँसम्म भाडा तिर्ने गरेका छन् । उद्योगमा हाल ५० क्विन्टल मह उत्पादन भएको छ भने वैशाखसम्म मौसम र फूलले साथ दिए थप ५० क्विन्टल उत्पादन हुने लक्ष्य रहेको खत्रीको भनाइ छ । ‘उत्पादित मह बाल्टीमा प्याक गरी चितवन पठाइन्छ,’ उनले भने, ‘चितवनको सागर मह उद्योगले बर्सेनि मह किन्ने गरेको छ ।’

मह त्यहीं प्रशोधन भई बट्टामा प्याक भई बिक्री हुने गरेको उनले जानकारी दिए । मौरीपालनकै लागि प्रदेश सरकारले दिने ‘मेरो पकेट अनुदान सहयोग’ समेत खत्रीले पाएका छन् । गत वर्ष १० लाख रुपैयाँ पाएका उनले घार थप्न सफल भएको प्रतिक्रिया दिए । हरेक वर्ष अनुदान बजेट आउने र नगरपालिकाको कृषि शाखामा उपलब्ध फारम भरेपछि ३ सय घार नाघेका किसानलाई अनुदान रकम प्राप्त हुने उनले जनाए । यस वर्ष उनले ६ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । आफूहरूले उत्पादन गरेको महको लेबलिङ भई ब्रान्ड बन्ने भएपछि मौरीपालक किसान हर्षित छन् । गैरसरकारी संस्था सेतो गुराँसले उक्त लेबल प्रदान गरेको नगपालिकाको कृषि शाखा प्रमुख सिर्जना खनाल सुवेदीले बताइन् । लेबललाई मह भरिएको बट्टामा टाँसी माथिबाट सैनामैना मौरीपालक कृषक समूह लेखिएको ब्रान्ड स्टिकर टाँसिन्छ । महको ब्रान्डिङ गरी बिक्रीवितरण गर्न पाउनु समूहका लागि खुसीको विषय भएको किसानको भनाइ छ ।      ( कान्तिपुर दैनिक )