मन्त्री ढेंगामगरद्वारा यातायात व्यवस्था कार्यालयको अनुगमन
News Desk
Feb-11 , 2022 तारिख 12:10 बेलुका

तिलोत्तमा —  २८  माघ २०७८    

तिलोत्तमा , लुम्बिनी प्रदेशकी श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेंगामगरले बुटवलको जितगढीस्थित ट्रायल सेन्टरको स्थलगत अनुगमन गरेकी छन् । मन्त्री ढेंगाले बिहीबार बुटवलको जितगढीमा निर्माणाधीन यातायात व्यवस्था कार्यालय‚ सवारीचालक अनुमति कार्यालय र ट्रायल सेन्टरको स्थलगत अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने क्रममा कुनै गुनासो भए सिधै आफूलाई तथा मन्त्रालयमा खबर गर्न सेवाग्राहीहरूलाई आग्रह गरिन् ।

‘सेवाग्राहीले सहज र छिटोछरितो रुपमा सेवा प्राप्त गर्न पाउनुपर्छ,’ उनले भनिन्, ‘संघीयता त्यसकै लागि आएकाले त्यसको लाभ प्रदेशका जनताले लिन पाउनुपर्छ ।’ प्रदेश सरकारले जितगढीमा निर्माण गरेको अन्तर्राष्ट्रिय मापदण्डसहितको ट्रायल सेन्टरबाट केही दिनअघिदेखि लाइसेन्सको ट्रायल लिन सुरु भएको छ । अनुगमनमा मन्त्रीसहित मन्त्रालयका कर्मचारी तथा पत्रकारहरूको समेत सहभागिता थियो ।                  

( कान्तिपुर दैनिक )