विस्तार हुँदै कुरिलो खेती
News Desk
Feb-13 , 2022 तारिख 01:27 बेलुका

भक्तपुर —  ०१ फागुन २०७८   

भक्तपुर , काउली, बन्दा, फर्सी, काँक्रोलगायत मौसमअनुसारका तरकारी लगाउने भक्तपुर सिपाडोलस्थित विविचा गाउँका दशराम र सरिता ख्याजु दम्पतीले कुरिलो खेती पनि गर्छन् । यो दम्पतीले २ रोपनी जग्गाबाट कुरिलो खेती गर्न थालेको पनि २ दशकभन्दा बढी भइसकेको छ । पहिले प्रतिकिलो ६० देखि ३ सय रुपैयाँमा बेच्दै आएको कुरिलोको मूल्य अहिले खेतमै प्रतिकिलो २ सय ५० देखि १२ सय रुपैयाँसम्म पर्छ । बजार विस्तार भइरहेकाले क्रमशः क्षेत्रफल बढाउँदै लगेका उनीहरूले अहिले २० रोपनी जग्गामा कुरिलो खेती गरिरहेका छन् । हेटौंडामा पनि खेती विस्तार गर्ने उनीहरूको सोच छ । ‘पहिला पाउको मुठा बान्थ्यौं, त्यही ५ वटा मुठाको किलो बनाउँथ्यौं, अहिले एक/दुई किलोको मुठा बनाउँछौं,’ सरिताले भनिन् । कुरिलो उत्पादन गर्ने मात्र होइन, दशराम उत्पादित फसल आफैं कालीमाटी तरकारी तथा फलफूल बजारमा लगेर बेच्छन् पनि । आफैंले तरकारी बेच्न जानुको पनि कारण छ । पहिले दशराम खेतीपाती गर्थे भने सरिता श्रीमान्लाई सघाउनेसँगै हिसाबकिताब सम्हाल्थिन् । खेतमै आएर फसल उठाउने व्यापारीले उचित मूल्य नदिएपछि उनीहरू बजारको खोजीमा लागे ।

२०७३ मा सरिताले डोलेश्वर मेलामा बाल्टिनमा कुरिलो राखेर बेचिन् । आफैंले बेच्दा राम्रो मूल्य पाएपछि चाबहिल तरकारी बजारमा पनि पुर्‍याए । त्यसयता दशरामले आफूसहित ७ जना किसानले उत्पादन गरेको तरकारीलाई कालीमाटी पुर्‍याउन थालेका हुन् । ‘आफैंले फसल बजार पुर्‍याउँदा कुरिलोमा मात्रै सिजनमा कम्तीमा ५ लाख रुपैयाँ बचत हुने रैछ, व्यापारीलाई दिनुभन्दा आफै बेच्ने हो,’ दशरामले भने । तरकारी उत्पादन गर्ने किसानले मिहिनेतअनुसारको मूल्य नपाउने तर त्यही तरकारी बजारसम्म पुग्दा धेरै महँगो हुने गरेको उनको अनुभव छ । ‘पहिला कुरिलोमा किलोकै ५०/१०० रुपैयाँ राख्ने रैछ, यता किसान सस्तोमा, उता ग्राहक महँगोमा किन्न बाध्य,’ दशरामले भने, ‘आजभोलि पनि महँगो हुँदा एक हजारमा उठाउँछन्, २ हजारमा बेच्छन् ।’ अहिले उनीहरूको खेतमा कुरिलोका ३–५ वर्ष पुराना बिरुवा छन् । यो वर्ष नयाँ बिरुवा पनि रोपिसकेका छन् । फागुनदेखि झार गोड्ने, मल हाल्ने, खनजोत गर्ने काम सुरु भएपछि उनीहरू त्यसमै व्यस्त हुन्छन् । ‘असार र साउनमा दिनकै टिप्नुपर्छ, नत्र बिरुवा हुर्किन्छ । जेठ र भदौमा दिन बिराएर टिप्नुपर्छ,’ दशरामले भने, ‘पहिला रोपनीमा २५ किलोसम्म उत्पादन हुन्थ्यो । अहिले १० किलो मात्र आउँछ ।’

लगातार एउटै बाली लगाइरहेका कारण पनि उत्पादन घटेको हुन सक्ने उनको भनाइ छ । तर मिहिनेत उति नै हुने भएपछि खेती विस्तार गरेको उनले बताए । ‘२ रोपनीमा खेती गर्दा पनि बाहिर जान पाइएन । २० रोपनीमा लगाउँदा पनि पाइँदैन । त्यसैले जग्गा बढाएको हो,’ उनले भने, ‘पहिला उत्पादन धेरै पैसा कम हुन्थ्यो । अहिले उत्पादन कम हुँदा पनि पैसा धेरै छ ।’ गत वर्ष कुरिलो मात्रै बेचेर २० लाख रुपैयाँ बचत गरेको उनले सुनाए । सबै जग्गा भाडामा लिएर खेती गरिरहेका उनीहरूले ८–१० जना कामदारलाई रोजगारीसमेत दिइरहेका छन् । विविचा गाउँका किसानले कम्तीमा १ रोपनीदेखि अधिकतम २० रोपनीसम्म क्षेत्रफलमा कुरिलो लगाएका छन् । अर्का किसान तुलसीराम ख्याजु पनि विगत २० वर्षदेखि २ रोपनी जग्गामा कुरिलो खेती गरिरहेका छन् । उनी पनि खेती विस्तार गर्ने तयारीमा छन् तर खोजेअनुसारको जग्गा नपाउँदा विस्तार गर्न सकेका छैनन् । ‘रोपनीको वर्षको भाडा मात्रै २० हजार भन्छन् । महँगो भयो । त्यहिमाथि सबै प्लटिङ गरेको जग्गाा । राम्रो जग्गा नै पाउँदैन,’ उनले भने । गत वर्षको जस्तै मूल्य पाएमा वर्षमा २ लाख रुपैयाँसम्म बचत हुने उनले बताए । ‘अहिले एक किलो खसीको मासु र कुरिलो मूल्य बराबर छ,’ उनले भने, ‘भैंसी पालेको जस्तो दुःख गर्नुपर्छ । त्यहीअनुसार आम्दानी पनि हुन्छ ।’

कुरिलो खेती गर्दा धेरै वर्षसम्म जग्गा ओगट्ने र मूल्य पनि कमै पाउने भएकाले केही वर्षअघिसम्म थोरै किसानले मात्र यो खेती गर्थे । पछिल्लो समय विविचा गाउँका धेरै किसान कुरिलो खेतीतर्फ आकर्षित भएका छन् । सुरुमा कुरिलोबाट आम्दानी प्रशस्त नहुँदा किसानहरू जग्गा भाडामा लिएर खेती गर्न डराउँथे । अहिले विविचा गाउँका ८० प्रतिशतभन्दा बढी किसानले कुरिलो खेती गर्छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जारी गरेको नेपाली कृषिसम्बन्धी तथ्यांकीय जानकारी २०७६ अनुसार देशभर १ सय ६२ हेक्टर क्षेत्रफलमा कुरिलो खेती गरिन्छ । जसमा बर्सेनि १ हजार १ सय ५२ टन कुरिलो उत्पादन हुने गर्छ । सात प्रदेशमध्ये वाग्मतीमा सबैभन्दा बढी ८ सय ४१ टन उत्पादन हुन्छ भने मधेस र सुदूरपश्चिम प्रदेशमा हालसम्म उत्पादन भएको छैन ।     

( कान्तिपुर दैनिक )