‘संक्षिप्त ऐतिहासिक दर्पण’ सार्वजनिक
News Desk
Feb-14 , 2022 तारिख 11:47 बिहान

काठमाडौँ — ०२ फागुन २०७८    

काठमाडौँ , दुर्गा नारायण ढकालद्वारा लिखित ‘संक्षिप्त ऐतिहासिक दर्पण’ पुस्तक सार्वजनिक भएको छ । आइतबार २७औं जनयुद्ध दिवसको अवसरमा जनसांस्कृतिक महासंघ नेपालले कोटेश्वरस्थित नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा सह.प्रा.डा. मधुसूदन गिरी, महासंघका केन्द्रीय उपाध्यक्ष केशव सिलवाल लगायतको सहभागितामा नेकपा (माओवादी केन्द्र) का नेता हितमान शाक्यले पुस्तक विमोचन गरेका हुन् । शाक्यले समाज रुपान्तरणमा साहित्यको भूमिका विशेष रहको बताए । पुस्तकमाथि अखिल नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष तथा साहित्यकार धनप्रसाद सुवेदीले टिप्पणी गर्दै ऐतिहासिक तथ्यलाई लेखकले समेटेको सुनाए ।

उनले भने,‘पुस्तकमा द्वन्द्ववादी ढंगले पूर्वीय र पाश्चात्य जगतमा विकास भएका परिघटनालाई समावेश भएको छ ।’ सुवेदीले लेखकले पुस्तकमार्फत इतिहासलाई फरक ढंगले चित्रण गर्ने कोशिस गरेको सुनाए । लेखक ढकालले पुस्तकमा समग्र इतिहास, मानव उत्पत्ति र विकास शासक र शासितहरुको विवेचना गर्ने कोशिस गरेको बताए । उनले भने, ‘पुस्तकमा मानव विकास, राज्यको उत्पत्तिदेखि जनयुद्धसम्मका ऐतिहासिक परिघटनालाई केलाउने प्रयत्न गरेको छु ।’ उनले पुस्तकले नेपालको ऐतिहासिक पक्षलाई बुझ्न सघाउने अपेक्षा राखेको बताए ।              

( कान्तिपुर दैनिक )