सुन तस्करी रोक्न थपियो चुनौती
News Desk
Feb-18 , 2022 तारिख 11:32 बिहान

काठमाडौँ —  ०६ फागुन २०७८    

काठमाडौँ , हिमालय एयरलाइन्सको उडानमा शनिबार दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो ८ सय ४० ग्राम अर्धठोस सुनसहित प्रहरीले पक्राउ गर्‍यो । बिजनेस भिसामा आएका ३६ वर्षीय झाङ लीको व्यवहार शंकास्पद लागेपछि सादा पोसाकका प्रहरीले शरीर छामेर खानतलासी गर्दा भित्री वस्त्रमा फल्स बटम बनाएर ल्याएको अर्धठोस सुन फेला परेको हो । आगमन कक्षबाट बाहिरिँदा ‘मेटल डिटेक्टर’ को स्टिमले पहिचान गरेको थिएन । लीले कम्मरको भागमा फल्स बटम बनाई ‘मेटल डिटेक्टर’ ले ‘डिटेक्ट’ गर्न नसक्ने बनाएको पेटी आकारको अर्धठोस सुनको एउटा पोका र उनले लगाएर आएको ३ वटा भित्री बस्त्रमा फल्स बटम बनाई प्रत्येकमा १/१ गरी ४ पोका सुन शरीर खानतलासीमा भेटियो ।

तर, उक्त अर्धठोस सुन मेटल डिटेक्टरले पत्ता नलगाएको पाइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले बताए । ‘मेटल डिटेक्टरले डिटेक्ट गर्न नसक्ने प्रविधि अपनाएर सजिलै सुन भित्र्याउने उपाय अपनाएको पाइएको छ,’ उनले भने । ठोस हुने सुनलाई सल्फर नामक रसायनमा राखेर अर्धठोस (लिक्विड) बनाएर ल्याएको पाइएको छ । तरल पदार्थ मेटल डिटेक्टरले पत्ता लगाउन सक्दैन । ‘अर्धठोस एवं लिक्विड पदार्थ डिटेक्ट गर्ने मेसिन हामीसँग छैन,’ भट्टराईले भने, ‘यो घटनाले सुन तस्करी नियन्त्रणमा नयाँ चुनौती थपिएको छ ।’ ती चिनियाँ नागरिक ली बिजनेस भिसामा सन् २०२० देखि हालसम्म २५ पल्ट नेपाल आएको पाइएको छ ।

विमानस्थलको मेटल डिटेक्टरले पत्ता लगाउन नसके पनि खानतलासीका क्रममा बरामद सुन ३ करोड ९० लाख ५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको छ । विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार बरामद सुनमा १.३४ प्रतिशत सल्फर मिसाएको पाइएको छ । अर्धठोस सुन बरामद भएको यो पहिलो पटक होइन । गत मंसिर २३ मा नेपाल एयरलाइन्सको उडानमा दुबईबाट आएका भारतीय नागरिकलाई मलद्वारमा राखेको ९ सय ५ ग्राम अर्धठोस सुनसहित प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले खाजा, पानी खुवाएर दिसा गर्न लगाउँदा कालो रङको रबर जस्तो देखिने पदार्थले बेरेको अवस्थामा सुन निस्केको थियो । उनले पनि मेटल डिटेक्टरलाई छल्ने पद्धति अपनाएका थिए ।

सुन ल्याउन भारतीय नागरिक कादर इब्राहिमको संलग्नता रहेको खुलेपछि उनी पनि समातिए । विमानस्थल भएर प्रस्थान तथा आगमन हुने यात्रुका ब्यागेजहरू स्क्यानरमा राखेर स्क्यान गर्ने र यात्रुको शरीर जाँच ‘मेटल डिटेक्टर’ बाट हुन्छ । तस्करले नयाँ–नयाँ जुक्ति अपनाएको खुल्न थालेपछि नयाँ इक्विपमेन्ट ल्याउने प्रयास भइरहेको विमानस्थल भन्सारले जनाएको छ । विमानस्थल भन्सारका अनुसार गत साउनदेखि फागुन ४ सम्म सुनको अवैध आयातसम्बन्धी ७५ मुद्दा छन् । जसमध्ये २० केजी ८ सय ६७ ग्राम सुन बरामद भएको छ । उक्त सुनको बिगो १६ करोड २६ लाख रुपैयाँ कायम भएको छ । 

( कान्तिपुर दैनिक )