कविता र निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार अर्पण
News Desk
Feb-22 , 2022 तारिख 09:24 बेलुका

 

२०७८ फागुन ६ गते । ७२ औँ  राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित कविता र निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार अर्पण गरिएको छ । फागुन ६ गते शुक्रबार प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक भव्य समारोहमा विजेताहरूलाई माला, प्रमाणपत्रसहित पुरस्कार अर्पण गरिएको हो । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछाने लगायतले विजेताहरूलाई संयुक्तरूपमा पुरस्कार अर्पण गर्नुभएको थियो ।  
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधबमोजिम प्रज्ञा–प्रतिष्ठानद्वारा माघ २८ गते एक सूचना प्रकाशित गरी फागुन ४ गतेभित्र आइपुग्ने गरी राष्ट्रिय भावना र लोकतान्त्रिक चेतना प्रतिबिम्बित भएको १५० शब्दसम्मको कविता र २००० शब्दसम्मको निबन्ध पठाउन आह्वान गरिएको थियो । जसअन्तर्गत ६५ वटा निबन्ध र थिए ।  कवितातर्फ खोटाङका तेज राईको कविता ‘भित्र्याउनु छ घरभित्र सह’ प्रथम, बैतडीका बासुदेव पाण्डेय ‘प्रभाकर’को कविता ‘पहिचान र लोकतन्त्र’ द्वितीय र ताप्लेजुङकी सविता बरालको कविता ‘ढोका उघारौँ अब’ तृतीय बनेका थिए ।
यसैगरी निबन्धतर्फ तनहुँका गोविन्दगोपाल खतिवडाको ‘सौन्दर्यको भूमिमा सम्भावनाको बीज’ शीर्षकको निबन्ध प्रथम, तेह्रथुमकी रेजिना आपगाईको ‘मेरो देशको सुगन्ध’ शीर्षकको निबन्ध द्वितीय र काठमाडौँका गणेश दङ्गालको ‘सयौँ थुँगा, धागो र माला’ शीर्षकको निबन्ध तृतीय बनेका थिए । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा विजेता बनेका र सहभागी सम्पूर्ण स्रष्टाहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नयाँ नेपालको नयाँ आकृति बनाउन नयाँ पुस्ताका साहित्यकार र रचनाकारसँग भिजन भएको बताउनुभयो । युवाहरूका नयाँ सोच, भावना र लक्ष्य रहेको भन्दै सोही अनुसारका रचनाहरू प्रतियोगितामा पुरस्कृत भएका उहाँले बताउनुभयो । प्रजातन्त्र दिवसका अवसरमा मन्त्रालयकै पहलमा पूर्ववत् रूपमै कार्यक्रम आयोजना गर्ने निर्णयअनुसार नै कार्यक्रम आयोजना भएको हो उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा स्वागत गर्दै प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले वि.सं. १९७६ पुसमा आधा राणा र आधा जनता रहने गरी नगरपालिका गठन भएको र त्यसलाई नै प्रजातन्त्रको स्थापना भएको दिन मान्न सकिने बताउनुभयो । प्रजातन्त्र स्थापनाका लागि योगदान गर्ने महान व्यक्तित्वहरूलाई स्मरण गर्नुपर्ने बताउँदै उहाँले राष्ट्र र राष्ट्रियप्रति बफादार रहँदै प्रजातन्त्रको दिगो विकासका लागि सबै लागि पर्नुपर्नेमा जोड दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यले साहित्य सिर्जनामा थप सहयोग पुगेको उल्लेख गर्नुभयो । उहाँले गत वर्षदेखि मन्त्रालय र प्रतिष्ठानबिच सहकार्य सुरु भएको बताउनुभयो । प्रजातन्त्र दिवसका अवसरमा आयोजित यस कार्यक्रमले निरन्तरता पाउने विश्वास दिलाउनुभयो । उहाँले सबै रचना उत्कृष्ट भए पनि सीमितलाई विजेता बनाउनु पर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “यसको अर्थ अन्य रचना कमजोर छन् भन्ने होइन ।”
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले सबैमा धन्यवाद व्यक्त गर्दै यस राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा साहित्यिक कार्यक्रम गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई योजनामै पारेर बजेटको गर्न आग्रह गर्नुभयो ।  
कार्यक्रममा निबन्धतर्फ प्रथम स्थान हासिल गर्न सफल गोविन्दगोपाल खतिवडा र कवितातर्फ प्रथम बन्न सफल तेज राई, द्वितीय बासुदेव पाण्डेय ‘प्रभाकर’ र तृतीय सविता बरालले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू सामाजिक शास्त्र विभाग प्रमुख प्रा. दिनेशराज पन्त, भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुख प्रा.डा. योगन्द्रप्रसाद यादव, साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल, साहित्य (अनुवाद) विभाग प्रमुख प्रा.डा. उषा ठाकुर, साहित्य (गद्य÷आख्यान) विभाग प्रमुख माया ठकुरी, साहित्य (समालोचना र निबन्ध) विभाग प्रमुख प्रा.डा. गोपीन्द्र पौडेल, साहित्य (मातृभाषा साहित्य) विभाग प्रमुख लक्ष्मी माली, साहित्य (लोकवार्ता, बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखा प्रमुख डा. सुरेश सुरस श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।