News Desk
महोत्तरी — ११ फागुन २०७८
महोत्तरी , महोत्तरीको गौशाला–१२ कान्तिबजारस्थित सागरनाथ वनमा बुधबार शव भेटिएकी अप्सना खातुनको हत्या श्रीमान्ले गरेको खुलेको छ । हत्यामा आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा श्रीमान् ३७ वर्षीय अजय महतो र सर्लाही मंलगवाका ३४ वर्षीय प्रमोद राउत छन् । पहिलो श्रीमान्सँग सम्बन्धविच्छेदपछि दुई छोरा लिएर अप्सना भारतको सीतामढीस्थित माइतीघरमा बस्दै आएकी थिइन् । घर बनाउने पेटीठेक्का लिएर काम गर्न सीतामढी पुगेका अजयसँग चिनजान र सम्बन्ध भएपछि उनीहरूले निकाह (विवाह) गरेका थिए । अप्सनाले घर लैजान दबाब दिएपछि काखका दुई बच्चासहित अजयले परिवारमा ल्याए । तर, अजयको परिवार र समाजले अप्सनासँगै उनका बच्चालाई स्वीकार गरेनन् । २५ हजार भारु अप्सनालाई क्षतिपूर्ति दिने र २५ हजारको भोज गर्नुपर्ने पञ्चायतले निर्णय गर्यो । तर, पञ्चायतको निर्णय नमानेर अप्सना अजयसँगै बस्न गइन् । उनीहरू परिवारमा बस्न नसकेपछि ९ महिनादेखि सर्लाहीको मलंगवामा डेरा गरी बस्दै आएका थिए ।
अप्सनाले अजयलाई कानुनी अधिकारका लागि अदालतमा विवाह दर्ता माग गरेकी थिइन । आफ्नो गर्भबाट अजयको बच्चा जन्मिएपछि उसलाई अधिकार दिनुपर्ने माग अप्सनाको थियो । प्रहरी अनुसन्धानअनुसार अप्सना ८ महिनाकी गर्भवती थिइन् । अजयले ठेक्का लिएर घर बनाइरहेका घरधनी प्रमोद राउतलाई श्रीमतीले अधिकार मागेर हैरान पारेको सुनाए । ‘मारेर फालिदिए समस्या समाधान हुने’ सल्लाह उनले अजयलाई दिए । अप्सनाले हैरान पारेकाले प्रमोदकै सल्लाहमा हत्या गरेको बयान अजयले प्रहरीमा दिएका छन् । घटनामा संलग्न ३ मध्ये अझै एक जनाको खोजी भइरहेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद पंगेनीले बताए । गत मंगलबार पहिलो श्रीमान्पट्टिका दुई बच्चासहित अप्सनालाई अजयले अटो रिजर्भ गरी मेला हेर्न जाने भन्दै सर्लाहीको ईश्वरपुर श्रीनगर चोकसम्म ल्याएका थिए । उनको साथमा सँगै काम गर्ने अर्का एक व्यक्ति पनि थिए । त्यहाँबाट प्रमोद राउतले आफ्नो प्रदेश २–०२–००२प७९५७ नम्बरको मोटरसाइकलमा बसाएर सबैलाई बाँके खोलाको बाँध हुँदै पालैपालो महोत्तरी ल्याए ।
दुई बालकलाई उनले मंगलबार साँझ गौशाला–१२ बीसहाराथानको एक पसलमा पुर्याए । ‘म बिस्कुट लिएर आउँछु’ भनेर निस्किएका प्रमोद फर्किएनन् । बच्चाहरू अलपत्र परेपछि पसले दिलबहादुर योञ्जनले गाउँले र प्रहरीलाई खबर गरे । आफन्त नभेटुन्जेललाई भन्दै ४ र अढाई वर्षका दुई बालकको सुरक्षाको जिम्मा गौशाला रेडक्रस उपशाखाका सभापति स्थानीय दिनेश महतोले लिए । उक्त पसलबाट ३ किलोमिटर पर वनमा दाउरा लिन गएका स्थानीयले महिलाको शव देखिएको प्रहरीलाई खबर गरे । मृतकको फोटो देखाउँदा ४ वर्षका छोराले आमा भनेर चिने । बालकहरूले मोटरसाइकलमा ल्याएर छाडेको बताएपछि प्रदेश प्रहरी जनकपुर, संघीय प्रहरी इकाइ जनकपुर र जिल्ला प्रहरी महोत्तरीले कुकुरको प्रयोग गर्दै अनुसन्धान थाल्यो । त्यस क्रममा दुई आरोपीलाई पक्राउ गरेको हो । अजय र अर्का एकले अप्सनालाई जंगलमा लगी सलले घाँटीमा कसेर अनुहार, कन्चटमा र छातीमा हिर्काइ हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । अजय र प्रमोदलाई कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको एसपी पंगेनीले बताए ।
( कान्तिपुर दैनिक )