News Desk
सिन्धुपाल्चोक — १२ फागुन २०७८
सिन्धुपाल्चोक , कोरोना भाइरसको महामारी फैलिएसँगै केही समय दोहन रोकिँदा आकर्षक देखिएको सुनकोसी नदी फेरि कुरूप देखिन थालेको छ । स्थानीय तहको ठेक्का कबोल र क्रसरको उत्खननसँगै नदी किनारमा ठूल्ठूला खाडल र बालुवाका थुप्रा देखिन्छन् । टिपरका लाइन लाग्छन् भने एक्स्काभेटरले दिनभर उत्खनन गरिरहन्छन् । नदीजन्य पदार्थ निकालिरहेका दर्जनौं एक्स्काभेटरले दैनिक दर्जनौं टिपरमा बालुवा भर्न सघाउँछन् । करिब एक किलोमिटरको दूरीमा एउटा एक्स्काभेटरले नदीको स्वरूपमा दख्खल नपुग्ने गरी २ मिटरसम्म खन्न स्थानीय तहले दिएको छ । तर, व्यवहारमा सुनकोसी र मेलम्चीमा झन्डै ४ देखि ५ मिटरसम्म गहिरो बनाई बालुवा निकालिएको छ ।
बिहान ६ बजेबाट नै सुरु हुने उत्खनन अबेर रातिसम्म बगर नै उज्यालो बनाएर चलिरहन्छ । एउटा एक्स्काभेटर प्रयोगका लागि स्वीकृति पाएका बालुवा ठेकेदारले रातभर उत्खनन गरिरहेका छन् । सुकुटे, चेहेरे, कोठे, खाडीचौर क्षेत्रभर ६ वटा एक्स्काभेटरले नदीजन्य वस्तु निकालिरहेका छन् । सुनकोसी नदीको सुकुटेदेखि बन्देउसम्म दर्जनभन्दा बढी एक्स्काभेटरले स्थानीय तहले ठेक्का दिँदा गरेका सर्त बेवास्ता गर्दै उत्खनन गरिरहेका छन् । नदी दोहनले बस्ती जोखिममा परेपछि स्थानीयले जनप्रतिनिधि, प्रशासन र सुरक्षाकर्मी गुहारेका छन् । स्थानीयले चौतारा साँगाचोकगढी नगरपालिका, प्रहरी प्रशासनदेखि जिल्ला समन्वय समितिमा उजुरी दिएपनि सुनुवाइ भएको छैन् ।
‘जनताको सेवा गर्न बसेका स्थानीय सरकार आफैं मौन छन्, अब कसलाई गुहार्न जाने ?,’ चौतारा साँगाचोकगढी नगरपालिका माझीगाउँका श्रवण माझीले प्रश्न गरे । जनप्रतिनिधि, प्रशासन, जिल्ला समन्वयले नदीमा भइरहेको अवैध उत्खनन रोक्ने र अनुगमन गर्ने प्रतिबद्धता गर्दै आएका छन् । बेलाबखतमा अनुगमन पनि हुने गरेको छ । तर अवैध दोहन भने जारी छ । तर कतिपय प्रतिनिधिले अनुगमनका क्रममा अवैध उत्खनन नदेखिएको दाबी गर्छन् । ‘दोहन रोक्न आवश्यक अनुगमन गरिरहेकै हो । अवैध दोहन भइरहेको पाइएन्,’ चौतारा साँगाचोकगढी नगरका मेयर अमानसिंह तामाङले भने ।
( कान्तिपुर दैनिक )