पीडितलाई न्याय पाउनै गाह्रो
News Desk
Feb-24 , 2022 तारिख 11:17 बिहान

कञ्चनपुर — १२ फागुन २०७८    

कञ्चनपुर , अधिकारकर्मी, राजनीतिकर्मी र सञ्चारकर्मीले भरिएको थियो, कञ्चनपुरको जिल्ला समन्वय समितिको हल । कार्यक्रम सुरु भएको केही बेरमै सञ्चालकले सहभागीलाई आफ्ना कुरा राख्न फ्लोर खुला भएको जानकारी गराउनेबित्तिकै उनी उठिन् । आफ्नो परिचय दिएर पीडाहरू पोख्न थालिन् । ‘मेरो जीवन बर्बाद भयो, अब म कहाँ जाउँ ?’ यति भन्नेबित्तिकै उनी रुन थालिन् । निकै बेर रोइन् । त्यसपछि बोल्नै सकिनन् । कञ्चनपुरको भीमदत्त नगरपालिका—७ हल्दुखालकी १८ वर्षीया ति किशोरी यतिबेला मर्नु न बाँच्नुको अवस्थामा छिन् । नेपाल प्रहरीका एक जवानसँग फोन सम्पर्कबाटै भएको मायाप्रेम विवाहसम्म पुग्दा अलपत्र परेकी उनी पछिल्लो पटक न्यायका लागि भौंतारिएकी छन् । न्यायका लागि प्रहरीबाटै ठगिनुपरेको उनको आरोप छ । ‘मलाई प्रहरीले समेत ढाँटिरहेको छ, मेरो जीवनमाथि खेलवाड गर्नेलाई प्रहरीले नै संरक्षण गरिहेको छ,’ राष्ट्रिय महिला आयोगले बुधबार महेन्द्रनगरमा आयोजना गरेको समाजमा विद्यमान हानिकारक अभ्यासहरूविरुद्ध सुदूरपश्चिम केन्द्रित अन्तरक्रियामा पीडित किशोरीले भनिन्, ‘अब म न्याय माग्न कहाँ जाऊँ, म बाँच्न चाहँदैन मर्छु ।’

१८ वर्षीया उनी भीमदत्त नगरपालिका– ८ को तलिचौरमा दिदीको घरमा बसेर अध्ययन गरिरहेकी थिइन् । एक दिन दिदीलाई फोन गर्न खोज्दा अन्तै फोन गयो । त्यही गल्तीको कल उनको जीवनका लागि अभिसाप बन्यो । उक्त फोन प्रहरी जवान डम्मर दियाललाई लागेको थियो । दियालले केही दिनपछि किशोरीलाई फोन गर्न थाले । एक/दुई दिन किशोरीले गल्तीले फोन लागेको भन्दै काटिन् । तर पटक पटक फोन आउँदा दुवै नजिक हुँदै गए । दियालले किशोरीलाई बैंकमा काम गर्छु भन्दै ढाँटेको थियो । घटना २०७७ असोजतिरको हो । दियालले उनलाई गत वर्ष मंसिरदेखि घरमा लैजान माइती छाड्ने गर्थे । यो क्रम चलिरहेकै थियो । गत माघमा हात काटेर रगतको सिन्दुर पनि हालेको किशोरीले बताइन् । त्यसपछि दियाल सम्पर्कविहीन भए । किशोरी आमाबुबासहित कञ्चनपुरको बेदकोट नगरपालिका— १० सिसैयास्थित उनको घरमा पनि पुगे । दियालकी भाउजूले दुवैको उमेर नपुगेको र पढेपछि विवाह गर्ने आश्वासन दिएर घर पठाइन् ।

लामो समयदेखि सम्पर्क नभएपछि किशोरीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइन् । घर परिवारले नमानेका कारण विवाह गर्न नसक्ने भन्दै दियाल पन्छिन खोजे । दियालका दाइले ५० हजार रुपैयाँ दिने भन्दै डम्मरलाई बिर्सिन भने । तर किशोरीले ५० हजारभन्दा आफ्नो जीवनको कुरा भएकाले डम्मर नै रोजिन् । त्यसपछि डम्मर उनलाई लैजान राजी भए । किशोरीका आमाबुबाले टीकाटालो गरेर दुवैलाई पठाए । डम्मरले उनलाई डडेलधुरास्थित घरमा लगेर गयो । त्यहाँ एक रात मात्रै बसेर तालिम छ भन्दै निस्के । किशोरी पनि कक्षा ११ को परीक्षा दिन भन्दै माइत आइन् । त्यसपछि डम्मरले उनलाई महेन्द्रनगरमै कोठामा राखेर आफू सम्पर्कविहीन भए ।त्यसपछि उनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइन् ।  तर प्रहरीले अहिलेसम्म डम्मर सम्पर्कविहीन भएको भन्दै गरिरहेको किशोरीको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयमा दियालविरुद्ध जबरजस्ती करणी मुद्दा दर्त्ता भएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । उनको खोजी भइरहेको बमले बताए । बेदकोट नगरपालिका—१ हात्तीथलाकी ७१ वर्षीया वृद्धाले पनि कार्यक्रममै आफ्नो पीडा पोखिन् । एकल महिला उनी घरमा एक्लै बस्छिन् । वृद्धाका छिमेकी ५५ वर्षीय गोपाल विष्टले रातिराति ढोका ढकढक्याउँदै दुःख दिने गर्थे । एक दिन मदिरा सेवन गरेर आएका विष्टले टाढैबाट ढुंगा प्रहार गरे । जसका कारण स्थानीय उर्मिला बोहरा घाइते भइन् । टाउकोमा ढुंगा लागेकी उनको अहिले पनि उपचार भइरहेको छ । प्रहरी कार्यालयका अनुसार विष्ट वृद्धासंँगै बिरामी भएका कारण वृद्धाश्रममा राखिएको छ । उनका आफन्त पनि कोही नभएकाले उपचार तथा रेखदेखमा समस्या भएको प्रहरी निरीक्षक बमले बताए । महिला आयोगकी सदस्य जया घिमिरेले कार्यक्रममा उठेका घटनाका विषयमा सम्बन्धित निकायबाट जानकारी लिएर आयोगले प्रक्रिया अगाडि बढाउने बताइन् । 

( कान्तिपुर दैनिक )