खानेपानी समस्याबाट मुक्त भयो चौरजहारी
News Desk
Feb-24 , 2022 तारिख 12:16 बेलुका

रुकुम पश्चिम — १२ फागुन २०७८    

रुकुम पश्चिम, चौरजहारी नगरपालिका–२ का दिवाकर गौतमले दैनिक १४ पटकसम्म घोडामार्फत पानी बोक्थे । होटल व्यवसाय गरिरहेका गौतमले होटल सञ्चालनका लागि प्रतिपटक ७० लिटरका दरले ठूलीभेरी नदीमा बगिरहेको पानी ल्याउनुपर्थ्यो । उनी मात्र होइन, चौरजहारीका केही व्यवसायीले पानी बोक्नका लागि मात्रै घोडाखच्चड किनेका थिए भने केहीले ट्यांकरमार्फत नै पानी ल्याउने गरेका थिए । स्थानीयवासी ठूलीभेरी नदीकै दुषित पानी महँगोमा किन्न बाध्य थिए । बढेको जनसंख्यालाई २०४५ सालमा बनेको टिटेखर्कको पानीले पुगिरहेको थिएन । यसको विकल्पको रुपमा ठूलीभेरी नदीमा बगिरहेको पानी घोडाखच्चड, ट्र्याक्टर र ट्यांकरमार्फत ल्याइन्थ्यो ।

दुई वर्षदेखि भने गौतमलगायतका व्यवसायीलाई कुनै चिन्ता छैन । भनेकै बेलामा भनेजतिकै पानी घरकै धारामा आइरहेको छ । होटलमा बस्न आएका पाहुनाले पानी नभएको भनेर गुनासो गरेका छैनन् । व्यवसायीहरूले पानी बोक्नकै लागि किनेका घोडाखच्चड, ट्याक्टर र ट्यांकर पनि बेचिसके । २०७६ फागुन २ गतेदेखि सबैका घरघरमा नियमित पानी आइरहेको छ । ३ नम्बर वडाको कैंजास्थित भेरी नदीबाट लिफ्टिङ गरेर पानी वितरण गरिएको छ । जसका लागि विजयश्वरी–चौरजहारी सुख्खा खानेपानी आयोजना कार्यान्वयन गरिएको थियो । २१ करोड ६२ लाख रुपैयाँको लागतमा भएकोआयोजनाले स्थानीयको पानीको दुःख बिर्साइदिएको छ ।                            

( कान्तिपुर दैनिक )