गाउँगाउँमा प्रसूति गृह
News Desk
Feb-25 , 2022 तारिख 10:53 बिहान

मुगु — १३ फागुन २०७८    

मुगु , सोरु गाउँपालिका–८ रुमकी ३० वर्षीया जलुका रावललाई एक साताअघि सुत्केरी व्यथाले च्यापेपछि आफन्तले सिपगाउँस्थित प्रसूतिगृहमा पुर्‍याए । अहिलेसम्म ३ बच्चा जन्माइसकेकी उनले पहिलोपल्ट स्वास्थ्यचौकीमा शिशुलाई जन्म दिएकी हुन् । ‘अहिले त गाउँकै अस्पतालमा सुत्केरी हुन पाइएको छ,’ छोरालाई जन्म दिएकी उनले भनिन्, ‘यसअघि कि घरमै जोखिम मोलेर सुत्केरी हुनुपर्ने बाध्यता थियो, कि एक दिन हिँडेर जिल्ला अस्पताल जानुपर्थो ।’  पहिले घर र गोठमा बच्चा जन्माउने यहाँका महिलाहरू अहिले प्रसूतिगृहमा सुरक्षित तरिकाले बच्चा जन्माउन पाएका छन् । एक वर्षअघि सोरुं–७ की ३३ वर्षीया असला बुढाको बच्चा जन्माउन नसक्दा बाटोमै ज्यान गएको थियो । ‘छोराछोरी जन्माउँदा हामीले त ठूलो जोखिम मोल्यौं,’ स्थानीय ४९ वर्षीया कमला शाहीले भनिन्, ‘अहिले त गर्भजाँच, खोप र प्रसूति सेवा गाउँमै पाइन थालेको छ ।’

जिल्लाका चारवटै स्थानीय तहका अधिकांश वडामा प्रसूति गृह खुलेपछि मातृ तथा शिशु मृत्युदर पनि घट्दै गएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनयता मातृ–शिशु मृत्युदर शून्य छ । गत वर्ष २ महिलाले सुत्केरी अवस्थामा ज्यान गुमाएका थिए । ५ वर्षभन्दा मुनिको बाल मृत्युदर घटिरहेको कार्यालयको तथ्यांक छ । गत वर्ष २ महिनादेखि ५९ महिना अवधिका २ बालबालिकाले ज्यान गुमाएका थिए । जन्मेदेखि २८ दिनभित्रका १५ जना शिशुले ज्यान गुमाएका थिए । यो वर्ष बाल र शिशु मृत्युदर पनि शून्य रहेको जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए । उनका अनुसार गाउँबस्तीमा सुरक्षित प्रसूतिगृह स्थापनापछि मातृ तथा बालमृत्युदर घट्दै गएको हो । विभिन्न निकायको सहयोगमा स्थापना गरिएका प्रसूति गृहमा स्थानीय तहले जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गरेको उनले जानकारी दिए ।          

 

जिल्लामा क्रियाशील गैरसरकारी संस्था मानव अधिकार तथा वातावरण विकास केन्द्रले चारवटै स्थानीय तहमा सुबिधायुक्त १४ वटा प्रसूतिगृह निर्माण गरेको छ । संस्थाले सोरु गाउँपालिकामा ४, खत्याडमा ७, मुगुमकार्मारोङमा १ र छायानाथरारा नगरपालिकामा २ वटा प्रसूतिगृह स्थापना गरेको छ । त्यस्तै, जिल्ला स्वास्थ्य सेवा कार्यालयले जिल्लाभरि १३ वटा प्रसूतिगृह सञ्चालनमा ल्याएको छ । अहिले मुगुमा २७ वटा सुरक्षित प्रसूतिगृह सञ्चालनमा रहेको स्वास्थ्य सेवा व्यवस्थापक गौतमले बताए । स्थानीय तहले गर्भवती महिलालाई पोषण र यातायात भत्ता उपलब्ध गराउन थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरूको संख्या बढिरहेको हो । घरमै बच्चा जन्माउने महिलाले कुनै पनि किसिमको सरकारी सेवा सुविधा नपाउने भएपछि संस्थागत प्रसूति दर बढ्दै गएको छ । अहिले सरकारले नियमित गर्भ जााच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई ५ हजार ८ सय रुपैयाँ पोषण भत्ता र यातायात खर्चवापत दिएको छ । त्यस्तै, स्थानीय तहले गर्भवती र सुत्केरी महिलालाई न्यानो कपडा र सन्तुलित भोजनको कोसेली उपहार दिने गरेका छन् । प्रसूति गृहमा सुत्केरी हुन आउने गर्भवतीले ४ देखि ९ पटकसम्म गर्भ जाँच गराएवापत ८ सय, यातायात खर्च ३ हजार र प्रदेश सरकारको कोसेली कार्यक्रममार्फत २ हजार रुपैयाँ पाउने गरेका छन् ।

जिल्ला अस्पतालमा कार्यरत सिनियर अनमी रामदेवी केसीले भत्ता र अन्य सेवा सुविधाले गर्दा पनि स्वास्थ्य संस्थामा आएर प्रसूति हुने क्रम बढेको बताइन् । ‘स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र बच्चाको ज्यान सुरक्षित भएको छ,’ उनले भनिन्, ‘गर्भजाँच र खोप सेवालाई पनि गाउँगाउँमा विस्तार गरेका छौं ।’ जनचेतनाले गर्भवती महिलालाई सकारात्मक प्रभाव पारेको आइएनएफ मुगुकी सहायक संस्थागत विकास अधिकृत शारदा हितानले बताइन । हिमाली जिल्लामा जोखिम अबस्थाका गर्भवतीलाई राष्ट्रपति उत्थान कार्यक्रममार्फत उद्धार गर्दा पनि मातृ र शिशु मृत्य्दुर घट्दै गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार जिल्लामा कुनै गर्भवती र सुत्केरी महिला अप्ठ्यारोमा परे नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिने व्यवस्था मिलाइएको छ । गत साउनदेखि अहिलेसम्म ३ जना जटिल गर्भवती अवस्थाका महिलाको कार्यक्रममार्फत उद्दार गरिएको थियो । मुगुमा एक जना गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गर्न कम्तिमा ४ लाख रुपैयाँ खर्च हुने गरेको प्रशासन कार्यालयले जनाएको छ ।                     

( कान्तिपुर दैनिक )