दुध बोकेको गाडी तोडफोड एवं ढुवानीमा अवरोध सृजना भएकोमा नेपाल डेरी एसोसिएसनको भर्त्सना
News Desk
Feb-28 , 2022 तारिख 02:19 बेलुका

 

काठमाडौं । दुग्ध पद्धार्थ बोकेको गाडी तोडफोड र ढुवानीमा अवरोध गरिएकोमा नेपाल डेरी एसोसिएसनले भर्त्सना गरेको छ । काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट आज बिहान दुध ढुवानीमा आउँदा काठमाडौंको सुकेधारामा बिहान ६ बजे तोडफोड गरिएको घटना र विभिन्न स्थानमा भएका अवरोधको एशोसियसनले निन्दा एवम् भर्त्सना गरेको हो । एमसिसि पास भएको बिरोधमा आठ राजनीति दलले गरेको बन्दको अवज्ञा गरेको भन्दै दुग्ध पद्धार्थ बोकेको गाडी तोडफोड र अवरोध भएको थियो ।

नेपाल डेरी एसोसिएसन आज प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटना हुनु दुखद रहेको औल्याएको छ । एशोसियसनद्वारा जारी विज्ञप्तीमा दुग्ध क्षेत्र अति आवश्यक बस्तुको सुचीमा रहेको र विगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोकतोक ढुवानी भैरहेकोमा यसपटक गाडी तोडफोड एवं ढुवानीमा समेत अवरोध सृजना भएकोमा नेपाल डेरी एसोसिएसन अत्यन्तै दुखित भएको जनाएको छ । ‘राज्यले उच्च महत्त्वका साथ दुध तथा दुग्ध पदार्थ ढुवानीलाई एम्बुलेन्स सरह मान्यता हुने गरि बिगतको १८ दिने आम हडताल होस् या कोभिड , भुकम्प, सबै राजनीतिक दलका बन्द हडतालमा निर्वाध बिना रोकतोक दुध तथा दुग्ध बोकेका गाडी आवागमन भएकोमा यसपटक एमसिसि पास भएको बिरोधमा आठ राजनीति दलले गरेको बन्दमा काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दुध ढुवानीमा आउँदा काठमाडौंको सुकेधारामा बिहान ६ बजे तोडफोड गरिएको घटनाले नेपाल डेरी एसोसिएसन दुख ब्यक्त गर्दै उक्त घटनाको घोर भर्त्सना गर्दछ’ एशोसियसनद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।

राज्यले निति नियम बनाउने तर गरिने व्यवहारमा चाहिँ त्यो अनुसार नगरिनाले अत्यन्तै समस्या पर्न गएको र तत्कालीन प्रधानमन्त्री केपि शर्मा वलीको पालामा आम सरोकारवालाहरुले धेरै अगाडिबाट उठाएको विषय दुध तथा दुग्ध पदार्थ ढुवानीमा सहजता हुनुपर्ने कुराको महत्व बुझि ढुवानीलाई बन्द, हडताल, नाकाबन्दी, लकडाउन जस्ता समयमा सहज होस् भनि राष्ट्रिय दुग्ध विकासको नेतृत्वमा प्रतीक चिन्ह ( लोगो ) निर्माण भइ स्वयं तत्कालिन प्रधानमन्त्रीले अनावरण गरि प्रयोगमा समेत ल्याइएको अवस्थामा यसरी तोडफोड हुने परिस्थिति सृजना हुनु सम्बन्धित बन्द कर्ता राजनीतिक दलका लागि पनि शोभनीय नहुनुपर्ने भन्दै एशोसियसनले असन्तुस्टी पोखेको छ । ‘यसरी बन्द हडतालमा अब आइन्दा अत्यावश्यक बस्तु बोक्ने कुनै पनि सवारी साधन माथि तोडफोड नगर्न र आज तोडफोड गरिएको गाडीको क्षतिपूर्ति दिन समेत सम्बन्धित बन्द कर्ता राजनीतिक दललाई नेपाल डेरी एसोसिएसन विनम्र अनुरोध गर्दछ’ एशोसियनका तर्फबाट महासचिव प्रल्हाद दाहालबाट जारी विज्ञप्तीमा जनाईएको छ ।