‘कसले गर्ला सन्तानको हेरचाह ?’
News Desk
Mar-06 , 2022 तारिख 11:55 बिहान

काठमाडौँ — २२ फागुन २०७८    

काठमाडौँ , ललितपुरको लुभु निवासी जयन्ती श्रेष्ठकी छोरी बौद्धिक अपांगता हुन् । उनी राम्ररी खान, बोल्न, हिँड्न र दैनिक क्रियाकलाप गर्न सक्दिनन् । छोरीको देखभाल गर्न सहयोगी राख्न सक्ने अवस्था नभएकै कारण जयन्ती छोरीकै स्याहारमा दिनरात खटिनुपर्छ । तैपनि उनलाई ‘म भइनँ भने छोरीको स्याहार कसले गर्ला’ भन्ने प्रश्नले झस्काइरहन्छ । जयन्तीकै जस्तो पीरको भारी छ, उर्मिला केसीको मनमा पनि । बौद्धिक अपांगताका अभिभावकको महासंघकी सचिव उर्मिलाको छोरामा पनि अटिजमको समस्या छ । उनले भनिन्, ‘मेरो सेखपछि कसले हेर्ला भन्ने चिन्ता भैराख्छ । सरकारी तवरमै पुनःस्थापनाका सुविधाहरू हुन्थे भने ढुक्कले मर्न त पाइन्थ्यो ।’ उनीहरू मात्रै होइन, सामाजिक हैसियत भएका अभिभावकलाई समेत बौद्धिक अपांगता भएका छोराछोरीको भविष्यले पिरोलिराख्छ । कान्तिपुर टेलिभिजनमा कार्यक्रम चलाइरहेका पत्रकार सुमन खरेल केही साता अघिमात्र बेलायत हान्निए । बौद्धिक अपांगता भएकी छोरीलाई देशभित्र हेरचाह तथा आधारभूत सेवा सुविधाको न्यूनतम सुविधा नभएकैले बिदेसिनुपरेको उनी बताउँछन् ।

‘दुःख लाग्छ आफ्नो देश छोड्दा, छोरीलाई चाहिने विशेष स्कुल, डे सेन्टर छैनन्, मुख्य एउटै समस्या सरकारसँग ‘केयर एन्ड सपोर्ट प्लान’ छैन,’ उनले भने, ‘जन्मिएपछि सबैले आफ्नो उमेर लिएर आएको हुन्छ, अभिभावक कति बाँच्छ, त्यसपछि बच्चाको जिम्मा कसले लिन्छ ?’ उनले अपांगता भएको छोराछोरी हुकाईरहेका हरेक अभिभावकसँग यस्तो डर हुने गरेको बताए । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले बौद्धिक अपांगतालाई उमेरको वृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारण उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्ति (डाउन सिन्ड्रोमसमेत) भनेर परिभाषित गरेको छ । यस्ता व्यक्तिलाई हेरचाह गर्न एक जना सहयोगी अनिवार्य चाहिन्छ । सरकारी भरथेग र बलियो प्रणालीको अभावमा बौद्धिक अपांगता भएका छोराछोरी हुर्काउन कैयौं अभिभावकले आफ्नो करिअरलाई थाती राखेका छन् ।

एक समय सक्रिय राजनीतिमा रहेकी सरस्वती ज्ञवाली शिक्षण पेसामा थिइन् । उनका श्रीमान् प्रदीप ज्ञवाली नेकपा एमालेको सक्रिय राजनीतिमा छन् । मस्तिष्क पक्षाघात (बौद्धिक अपांगता) भएकी छोरी क्षितिजको स्याहारसुसारकै लागि सरस्वतीले जागिरबाट अवकाश लिइन् । लेखकसमेत रहेकी उनी भन्छिन्, ‘घरमा एउटा बिरामी सधैंभरि हुन्छ भने सबैभन्दा पीडा हुने आमालाई हो, उसको चौबीसै घण्टा केयर गर्नुपर्छ,’ उनले भनिन्, ‘मैले जागिर छोडेर पनि छोरीलाई समय दिएँ । मेरो ममताले जित्यो, सबैलाई यो हुँदैन ।’ यस्ता अपांगताका लागि राज्यले नै नर्ससहितको सहयोगी उपलब्ध गराए हुने उनी बताउँछिन् । गत साता शंखमूलस्थित निवासमा पुग्दा सिटिङ रुमको सोफामा उनी छोरीलाई अलमल्याउँदै गरेको भेटिइन् । झ्यालबाट छिरेको कलिलो घामको किरण क्षितिजका अनुहारमा ठोक्किएको थियो । सोफामाथि पल्टिएकी छोरीलाई सरस्वतीले टाउकोमा मुसार्दै, जिस्क्याउँदै भुलाउँदै थिइन् । क्षितिज वरपर पल्याकपुलुक्क गर्दै चल्बलाइरहेकी हुन्थिन् । ३४ वर्षअघि प्रदीप र सरस्वतीको जीवनलाई जोड्ने पहिलो सन्तानको रूपमा क्षितिजले जन्म लिएकी थिइन् । पञ्चायतविरोधी आन्दोलन चलिरहेका बेला पतिका पुस्तक, चिठीपत्र, फोटो लुकाएर ओर्लने क्रममा सरस्वती गोठको लिस्नोबाट खसेकी थिइन् । परिणाम, छोरी मस्तिष्क पक्षाघात भएर जन्मिइन् ।

सासु आमा बितेपछि सरस्वतीले छोरीको हेरचाह गर्नकै लागि २०५३ सालमा जागिर र २०६३ मा राजनीति छोडिन् । उनलाई बेलाबखत छोरीलाई लिएर बाहिर जान मन लाग्छ । तर उनलाई थाहा छ, काठमाडौंका सडक, आकाशेपुल तथा भौतिक संरचना अपांगतामैत्री छैनन् । पति मन्त्री भएका बेला पुल्चोक क्वाटरमा बस्दा क्षितिजको स्याहार गर्न सरकारले एक जना सहयोगी उपलब्ध गराएको थियो । पाँच वर्षका लागि उनै सहयोगीले साथ दिइरहेकी छन् । ६० वर्ष पुग्न लागेकी सरस्वती आफैं ढाडको हड्डी खिइने समस्याले पीडित छिन् । ‘जसलाई घाउ, उसलाई मात्रै दुख्ने भयो, राज्यलाई दुखेन,’ उनले निराश भावमा भनिन्, ‘यो हाम्रो मात्रै समस्या होइन, हामीले त जसोतसो व्यवस्थापन गरौंला तर गिट्टी कुटेर खाने मान्छेलाई ठूलो समस्या छ ।’ उदयपुरको शिक्षा विकास तथा समन्वय इकाइमा शाखा अधिकृत भवानीप्रसाद कट्टेल अपांगता अधिकार ऐनमा अपांगता भएका व्यक्तिलाई राज्यले पुनःस्थापना गर्ने उल्लेख भए पनि त्यसको कार्यान्वयन नभएको बताउँछन् । उनी अपांगता भएका सन्तान हुर्काउनुको चुनौती हरेक दिन भोगिरहेका छन् । उनका २७ वर्षीय छोरा बौद्धिक अपांगता हुन् । पत्नी सीतादेवी छोराको स्याहारमा आफ्ना सबै रहर र योजना थाती राखेर खटिएको वर्षौं भइसक्यो । राज्यले आधारभूत सुविधा पनि दिन नसक्दा विपन्न परिवारका सदस्य बौद्धिक अपांगता, अटिजम, मनोसामाजिक समस्या भएका छोराछोरीलाई एक्लै छोडेर काममा जान बाध्य छन् ।

यही मौका छोपेर बौद्धिक अपांगता भएका छोरीहरू परिवार तथा नातेदारबाटै यौनहिंसामा पर्ने गरेको अधिकारकर्मी रीता साह बताउँछिन् । ‘यो आर्थिक सामाजिक हैसियतमा नभएका बौद्धिक अपांगता, अटिजम, मनोसामाजिक समस्या भएका छोरीहरू भएका अभिभावकको साझा समस्या हो,’ माइल्ड अटिजम भएका छोराकी आमासमेत रहेकी साह भन्छिन्, ‘हाम्रो परिवार, समाजमा यस्तो असुरक्षा छ कि यदि बच्चा छोरी भएको भए एक्लै छोड्न सक्दिन थिएँ ।’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता उमेश ढुंगाना स्याहार गर्ने परिवारका सदस्य वा संरक्षक नभएका अपांगता भएका व्यक्तिका लागि अपांगता ग्राम निर्माण प्रक्रिया थालेको बताउँछन् । सरकारले हालै ‘अपांगता ग्राम निर्माण तथा सञ्चालन कार्यविधि २०७८’ बनाएको छ । यो कार्यान्वयनमा आए अपांगता भएका व्यक्तिले आश्रय र आत्मनिर्भर नहुन्जेलसम्मका लागि आवासीय पुनःस्थापना हुन पाउँछन् । संघ र प्रदेश सरकारको साझेदारीमा बन्ने अपांगता ग्राम खासगरी प्रदेशस्तरीय हुनेछन् । यसमा पुनःस्थापना केन्द्रसँगै शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार, मनोरञ्जन, सीपमूलक तालिम, बिक्री प्रवर्द्धन केन्द्र, दिवा सेवा केन्द्र, पुस्तकालय, सहायक सामग्रीलगायत सेवासुविधा रहन्छन् ।                      

( कान्तिपुर दैनिक )