कालिञ्चोकमा केबलकार
News Desk
Mar-06 , 2022 तारिख 01:07 बेलुका

दोलखा — २२ फागुन २०७८    

दोलखा , एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दोलखाको कालिञ्चोक पुगेर केबलकारको उद्घाटन गरेका छन् । उनले झन्डै ३ घण्टा कालिञ्चोकमा बिताए । कालिञ्चोक केबलकार कम्पनीले कुरीदेखि मन्दिर क्षेत्रसम्म केबलकार बनाएको छ । ओलीले ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक मन्दिरमा पूजा गरेर प्रसादसमेत ग्रहण गरे । आफू प्रधानमन्त्री हुँदा उनले घाम नलाग्ने स्थानमा चलचित्र नगरी भनेर योजना कटौती गरेका थिए । ओलीले कालिञ्चोक पुगेर चलचित्र नगरी ‘ऊ त्यहाँ छ’ भन्दै देखाउन भ्याए । ‘सत्तामा हुँदा घाम नलाग्ने र सत्ताबाहिर हुँदा चिन्ने’ भन्दै धेरैले आलोचना पनि गरे ।

तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेतले भीमेश्वर नगरपालिका–९ मा चलचित्र नगरी (फिल्म सिटी) बनाउन संरचनाको शिलान्यास गरेका थिए । अहिले यहाँ फिल्म सिटीका संरचना निर्माण भइरहेका छन् । ओली आफूलाई फूर्तिलो देखाउन सुरक्षाकर्मीको सहारामा हिउँमा हिँडेर मन्दिर क्षेत्र पुगेका थिए । काठमाडौंबाट हेलिकोप्टरमार्फत पुगेका ओलीलाई आफ्नै दलका नेता/कार्यकर्ताले उक्त क्षेत्रको गलत सूचना दिँदा उनी मख्ख परेर सुनिरहेका थिए । उनले पनि कालिञ्चोकबाट चीनको सबैभन्दा उचाइको हिमाल भन्दै सबैलाई देखाइरहेका थिए । जबकि कालिञ्चोक क्षेत्रबाट उक्त हिमाल देखिँदैन । उनलाई पथप्रदर्शकले समेत गलत सूचना दिइरहँदा अधिकांशले पत्याएका थिए ।

कालिञ्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामीले उनलाई लामटाङ हिमशृंखला देखाउँदै आमादब्लम हिमाल भने देखाए । ‘अध्यक्षज्यू ऊ त्यो आमादब्लम हिमाल हो,’ अध्यक्ष थामीले भने, ‘उक्त हिमालसहित धेरै हिमशृंखला देखिन्छ ।’ जबकि उक्त हिमाल महालङ्गुर हिमशृंखलामा पर्छ । ओलीले कालिञ्चोक पुगेर सञ्चारकर्मीसँग खासै कुराकानी गर्न नचाहे पनि अन्तिममा सत्ता गठबन्धनलाई दैत्यको संज्ञा दिन भने भ्याए । ‘सधैं दैत्य र दानवको पराजय हुन्छ,’ उनले भने, ‘विजयी सधैं देवीदेवताको हुन्छ ।’ उनले पवित्रस्थलमा अपवित्र गठबन्धनको कुरा नगरौं भन्दै सञ्चारकर्मीको प्रश्न टारिदिए ।     

( कान्तिपुर दैनिक )