News Desk
ललितपुर- ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ललितपुर महिला चेम्बरले ललितपुर चेम्बर अफ कमर्स,नेपाल महिला चेम्बर ,नेपाल क्यान्सर हस्पिटलसँगको संयुक्त आयोजनामा ललितपुर महानगरपालिका वडा नं १५ स्थित भेल्पामा दुई दिने महिला स्वास्थ्य सम्बन्धि सचेतता एवम् पाठेघर र स्तन क्यान्सर स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीय महिलाहरुको स्वास्थ्यलाई लक्षित गरि फाल्गुन २२ गते देखि सुरु भएको कार्यक्रमको उदघाट्न ललितपुर महानगर पालिकाकी उप- प्रमुख गीता सत्यालले गरेकी थिईन् । करिब १०० जना महिलाहरुको सहभागिता रहेकोे उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख सत्यालले ललितपुर महिला चेम्बरले महिला सबलिकरणका निम्ति गरेको यस कार्यक्रमको प्रसंशा गरिन् । उनले ललितपुरमा ललितपुर महिला चेम्बरले महिलाहरुको हितको लागि गरिने काममा आफुले पनि सहयोग गर्ने ,महिला स्वस्थ भएमा मात्र कुनै पनि काम गर्न अग्रसरता जाग्ने बताईन् ।
समारोहमा ,ललितपुर महिला चेम्बरका अध्यक्ष सुनिता बज्राचार्यले स्वागत मन्तव्य राख्दै आगामी दिनहरुमा ललितपुर महिला चेम्बरले ललितपुरमा रहेका महिलाहरुलाई समाहित गर्दै स्वास्थ्यको साथै उत्कृष्ट उद्यमी एवम् व्यवसायीको रुपमा प्रस्तुत गराइ महिलाहरुलाई आत्मनिर्भरतामा डोर्याउने खालका कार्यक्रम गर्दै जाने कुरा उल्लेख गरिन । कार्यक्रममा नेपाल महिला चेम्बरकी कार्यकारिणी सदस्य एवम् नेपाल क्यान्सर हस्पिटलकी प्रबन्धक निर्देशक स्वरुपा श्रेष्ठले ललितपुर महिला चेम्बरसँग यस प्रकारको कार्यक्रमहरुमा आगामी दिनमा समेत सहकार्य गर्दै जाने उल्लेख गरिन । ललितपुर १५ नं वडाका अध्यक्ष सुदर्शन मिश्रले यस वडा नगर भएतापनी यसभेगका महिलाहरु स्वास्थ्यको सवालमा पिछडिएको र स्वास्थ्य शिविर कार्यक्रमले महिलाहरुको उत्थान गर्नमा ठुलो टेवा पुग्ने उल्लेख गरे । त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले चेम्बरका विभिन्न कृयाकलाप बारे प्रकाश पार्दै ललितपुर महिला चेम्बरले स्वास्थ्य, महिला उद्यमशिलता विकास आदीमा सकृय भूमिका निभाएकोमा प्रशंसा गर्दै छिट्टै नै ललितपुरमा महिला उद्यमीहरुको सामुहिक भेला गराई सिर्जनशिलता एवम् नेतृत्व विकासका निम्ती लागिपर्ने कार्यक्रम रहेको बारे उल्लेख गरे ।
उदघाटन सत्र लगत्तै शिविर शुरु भएको थियो । २२ र २३ गरि दुई दिनसम्म जारी रहेको उक्त शिविरमा सय भन्दा बढी महिलाहरुले पाठेघर र स्तनको परिक्षण गराएका थिए ।
कार्यक्रमको अन्त्यमा, नेपाल क्यान्सर अस्पतालमा कार्यरत वरिस्ठ सर्जन अन्कोलोजिस्ट डा. कपेन्द्र शेखर अमात्य, स्त्री रोग बिशेषज्ञ डा. अन्जु श्रेष्ठले क्यान्सर र महिला स्वास्थ्य सम्बन्धमा प्रकाश पारेका थिए ।
सो अवसरमा ललितपुर महिला चेम्बरकी उपाध्यक्ष शान्ता शाक्यले कार्यक्रम सफल पार्न सघाउने सबैमा धन्यवाद ज्ञापन गर्दै शिविर संचालन गर्न सघाउने नेपाल क्यान्सर अस्पताल प्रति बिशेष आभार व्यक्त गरिन । उक्त कार्यक्रम ललितपुर महिला चेम्बरकी सचिव निशा ले गरेकी थिईन् ।