पहिरोपीडितको अझै टेन्टमा बास
News Desk
Mar-09 , 2022 तारिख 11:02 बिहान

संखुवासभा — २५ फागुन २०७८   

संखुवासभा, २०७७ असार २७ गते राति बेसिन्दा गाउँकै बीच भएर पहिरो गयो । पहिरोमा ११ बेपत्ता भए । उनीहरू अझै भेटिएका छैनन् । चारको जीवितै उद्धार गरिएको थियो । बाँचेकाहरूको घर बगाएपछि अस्थायी बसोबासका लागि टेन्ट उपलब्ध गराइयो । उनीहरू अहिले पनि सिलिचोङ गाउँपालिकाको बुधबारे बजारमा टेन्टमा रात बिताउँछन् । बर्खाको झरी, कठ्यांग्रिँदो जाडो काटेका पहिरो पीडित आउँदो बर्खामा नयाँ थलोमा बस्न पाइने आशामा छन् । तर सरकारी निकायको पटकपटकको आश्वासनले उनीहरूमा निराशा छाएको छ । पहिरोमा बाँचेका गोवासिंह कुलुङ थातथलो छाडेर टेन्टमा बसेका छन् । २० महिना बित्दा पनि सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवाका बासिन्दाको पुनर्बासको प्रबन्ध हुन सकेको छैन,’ उनले भने, ‘पहिरो गएदेखि विस्थापित छौं ।’ सरकारी र गैरसरकारी संस्थाले त्यतिबेला दिएको टेन्टमा बसिरहेको उनले बताए । ‘खोला बगरमा बसेको डेढ वर्ष भइसक्दा पनि सरकारी निकायबाट आश्वासनबाहेक केही पाएनौं,’ कुलुङले भने ।

स्थायी रूपमा पुनर्बास गर्न स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समितिदेखि प्रदेश र केन्द्रसम्म कागजी प्रक्रिया सम्पन्न भए पनि निःशुल्क दिने भनिएको जग्गा नपाएको उनले गुनासो गरे । कुलुङले भने, ‘निःशुल्क जग्गामा पुनर्बास गर्ने भनिएको थियो,’ उनले भने, ‘अब कतिन्जेल पर्खनु ?’ बेसिन्दाका ८६ र चेप्चेवाका २० गरी १ सय ६ घरपरिवारलाई स्थायी पुनर्बासको व्यवस्था गर्ने प्रक्रिया सुस्त छ । जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहको पटकपटकको छलफलपछि खाँदबारी नगरपालिका क्षेत्र र सिलिचोङकै बखल्टुममा उनीहरू स्थानन्तरण गर्ने भनिएको छ । ‘यो निर्णय भएको पनि बर्ष दिन बित्यो,’ अर्का पीडित दिलीप कुलुङ भन्छन्, ‘जग्गा हस्तान्तरण भएको छैन, आसमात्र देखाउने काम भएको छ ।’

प्रमुख जिल्ला अधिकारी र गाउँपालिकाबीच कुरो नमिल्दा जग्गा खरिद प्रक्रिया अघि बढ्न नसकेको हो । सिलिचोङका पीडितका लागि खाँदबारी आसपास जग्गा खोजबिन समिति गठन पनि गरिएको छ । ५५ परिवारका लागि जग्गा टुंगो लागेको छ । तर खरिद प्रक्रियाका अघि नबढेको पीडितको गुनासो छ । गाउँपालिका एवं नगरपालिकाले सबै प्रक्रिया पूरा गरी विपद् व्यवस्थापन समितिमा पठाइसकेको जनाएको छ । कानुनी प्रक्रिया लामो हुने भएकाले जग्गा खरिदमा ढिला भएको जग्गा खोजबिन समितिले जनाएको छ । पहिरोबाट विस्थापितलाई स्थायी पुनःस्थापनाका लागि जिल्लाका ३ स्थानमा जग्गा खोजिएको थियो । यसका लागि भूगर्भविद्को टोलीले प्रतिवेदनसमेत पठाइसकेको छ । प्रतिवेदन प्राप्त भएको महिनौं बित्दा पनि स्थानीयस्तरमा काम गर्ने निकाय मौन छ । ‘ढिलासुस्ती भएको प्रस्ट देखिन्छ,’ पीडित कुलुङले भने, ‘स्थानीय तह र स्थानीय प्रशासनको कमजोरीले पहिरोमा बाँचेकाका लागि बस्ने ठाउँ नहुँदा बिजोग भएको छ ।’     

( कान्तिपुर दैनिक )