वीरगन्जमा होटल-रेस्टुरेन्टको वर्गीकरण
News Desk
Mar-09 , 2022 तारिख 11:37 बिहान

पर्सा — २५ फागुन २०७८   

पर्सा , वीरगन्जका होटल तथा रेस्टुरेन्टको स्तरीकरण तथा लोगो वितरण कार्य सुरु गरिएको छ । जनकपुरस्थित प्रादेशिक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र वीरगन्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले मंगलबारदेखि खाद्य स्वच्छताका आधारमा यहाँका होटल तथा रेस्टुरेन्टको स्तरीकरण तथा लोगो वितरण थालेका हुन् । यहाँस्थित क्लार्क्स रिसोर्टबाट यो अभियान सुरुवात गरिएको छ । अनुगमनपछि क्लार्क्सलाई तीनतारेको मान्यता दिइएको छ । उसले १ सय पूर्णांकमा ९५ अंक प्राप्त गरेको छ । ‘होटल तथा रेस्टुरेन्टबाट स्तरीकरणका लागि निवेदन आएमा कार्यालयले स्तरीकरणको काम गर्छ,’ प्रादेशिक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख विजय खनालले भने, ‘अनुगमनका क्रममा देखिएका कमीकमजोरी सुधार गर्न सुझाव दिने गरिएको र अर्को पटक अनुगमनमा आउँदा उक्त सुझावको कार्यान्वयन गरिएको हुनुपर्छ, त्यस आधारमा स्तर छुट्याइने गरिएको छ ।’

डिभिजन कार्यालय प्रमुख बिक्की राउतले यसअघि वीरगन्जमा होटल तथा रेस्टुरेन्टका सञ्चालक तथा व्यवस्थापकलाई सचेत बनाउन अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको बताए । वीरगन्जबाट हाल २२ होटल र रेस्टुरेन्टबाट स्तरीकरणका लागि निवदेन परेकामा बुधबारसम्म सबैको अनुगमनपछि स्तरीकरण निर्धारण र लोगो वितरण गरिने उनले बताए । ‘यस्तो मूल्यांकन वीरगन्जमा झन्डै ३ वर्षपछि भइरहेको हो,’ उनले भने । उनका अनुसार होटल तथा रेस्टुरेन्टको स्तरीकरणपछि लोगो टाँस गर्नुका साथै प्रमाणपत्रसमेत प्रदान गरिन्छ । त्यसका लागि खाद्य स्वच्छता समिति गठन गरिएको छ । समितिले खाद्य स्वच्छताका आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्थाअनुसार ५० वटा सूचकका आधारमा होटल तथा रेस्टुरेन्टको स्तरीकरण मूल्यांकन गर्ने गर्छ ।

एउटा सूचकलाई २ नम्बर दिएर मूल्यांकन गर्दा ९० भन्दामाथि अंक ल्याउने होटलमा अति उत्तम (३ वटा स्टारसहितको हरियो), ८०–८९ अंक ल्याउने उत्तम (२ स्टारसहितको हरियो), ६५–८९ अंक ल्याउने सन्तोषजनक (१ स्टारसहित हरियो) र ५०–६४ अंक ल्याउनेलाई सामान्य (पहेंलो) लोगो टाँसिन्छ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले यसले कमीकमजोरी घट्दै गएर उपभोक्तासँगै होटल व्यवसायी पनि लाभान्वित हुने बताए ।           

( कान्तिपुर दैनिक )