News Desk
धनुषा — २५ फागुन २०७८
धनुषा , बारीमा गाडेर राखेको अवस्थामा चोरीको सालको गोलिया बरामद भएको छ । स्थानीय सामुदायिक वनबाट चोरी गरी ल्याइएका ४/५ फिट लम्बाइका १ सय ८५ थान सालको गोलिया बारीमा गाडेको अवस्थामा फेला पारेको डिभिजन वन कार्यालय प्रमुख सुनीलकुमार कर्णले बताए ।
उनका अनुसार नियमित गस्तीका क्रममा सोमबार दिउँसो धनुषाधाम–६ मालटोलबाट १८१ थान गोलिया र ४ थान चिरान गरिएको अवस्थामा २५५ क्युफिट काठ फेला पारिएको हो । बरामद काठ सबडिभिजन वन कार्यालय पुष्पवलपुरमा राखिएको छ । ‘कुन क्षेत्रबाट काटेर ल्याइएकोबारे अनुसन्धान भइरहेको छ,’ कर्णले भने, ‘वन सुरक्षाका लागि कर्मचारी कम हुँदा धनुषामा रातको समयमा तस्करहरू सक्रिय हुन थालेका छन् ।’
( कान्तिपुर दैनिक )