संखुवासभामा बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो
News Desk
Mar-10 , 2022 तारिख 10:33 बिहान

संखुुवासभा — २६ फागुन २०७८    

संखुुवासभा , संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । घटनास्थलमा रहेका मादी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष धननारायण तामाङले १३ जनाको शव निकालिएको बताए । मृतकहरुको पहिचान भइसकेको छैन । बिहीबार बिहान भएको दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको स्थानीय डम्बरबहादुर बस्नेतले बताएका छन् ।

उनका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो । स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले अहिले पनि उद्धार कार्य जारी रहेको बताए ।

( कान्तिपुर दैनिक )