खाजाले बढे विद्यार्थी
News Desk
Mar-10 , 2022 तारिख 03:09 बेलुका

हेटौंडा — २६ फागुन २०७८    

हेटौंडा , मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पढ्ने उमेरका शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएर नियमित अध्ययन गरिरहेका छन् । पालिकाले २०७५ सालदेखि नै सामुदायिक विद्यालयका १२ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ । सोही व्यवस्थाका कारण पालिकाभित्रका सबैजसो बालबालिका विद्यालय भर्ना भएका छन् भने भर्ना भएर बीचमै पढाइ छाड्ने (ड्रप आउट) प्रवृत्ति पनि हटेको छ । ‘खाजा दिन थालेयता गाउँका सबै पढ्ने उमेरका बालबालिकाहरू भर्ना हुन आएका छन्,’ मकवानपुरगढीको आमभन्ज्याङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक चतुर्भुज पौडेलले भने, ‘भर्ना भएका सबैजना निरन्तर पढ्न पनि आइरहेका छन् ।’ उनका अनुसार विद्यालयमा २०७४ सालको शैक्षिक सत्रमा ४८ विद्यार्थी मात्रै भर्ना भएका थिए । 

नियमित पढ्न आउने ३२ जना मात्र थिए । २०७५ सालमा गाउँपालिकाले खाजाको व्यवस्था गरेकाले नयाँ र पुराना गरेर ७७ जना विद्यार्थी भर्ना भए । उनीहरू नियमित रूपमा विद्यालय आउने गरेका छन् । उक्त विद्यालयमा एकदेखि ५ कक्षासम्म पठनपाठन हुने गरेको छ । विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिका तामाङ समुदायका छन् । मकवानपुरगढी–५ मानेडाँडास्थित मञ्जुश्री आधारभूत विद्यालयमा पनि विद्यार्थी संख्या बढेको छ । स्कुलमा खाजाको व्यवस्था नहुँदा विद्यालयमा २५ जनामात्र विद्यार्थी भर्ना भएका थिए । खाजाको व्यवस्था भएपछि विद्यार्थीको संख्या दोब्बर भएको छ । उनीहरू नियमित रूपमा पढ्न आउने गरेका छन् । ‘गाउँपालिकाले स्कुलमा खाजाको व्यवस्था गरेपछि स्कुलमा भर्ना हुने र नियमित रूपमा पढ्ने बानी परेको छ,’ प्रअ कृष्णप्रसाद आचार्यले भने, ‘स्कुलमा दिउँसो खाजा खान पाउने कारणले गर्दा बालबालिकाहरूको स्कुलप्रति आकर्षण बढेको छ ।’

बीचमा नै पढाइ छोड्ने र हाफटाइममा भाग्ने बानी अहिले हराएको प्रअ आचार्यले थपे । एक/दुई कक्षा पढेर छाडेर घर बसेकाहरू पनि स्कुलमा पढ्न आउने गरेका छन् । तीन कक्षासम्म पढाइ हुने विद्यालयमा हाल ५१ जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी संख्या नपुगेर मर्ज गर्नुपर्ने अवस्थामा पुगेको मकवानपुरगढीकै उज्ज्वल आधारभूत विद्यालयमा पनि खाजा सञ्चालन गरेपछि विद्यार्थी संख्या बढेको छ । स्कुलमा खाजाको व्यवस्था हुनुभन्दा अघि २० जनामात्र विद्यार्थी रहेको यहाँ अहिले चालीस जना पुगेका छन् । उनीहरू नियमित रूपमा पढ्न आउने गरेको प्रअ सीता न्यौपानेले बताइन् । मकवानपुरगढी गाउँपालिकाभित्र भएका ४० स्कुलका ६ हजार ९ सय १२ विद्यार्थीलाई खाजाको व्यवस्था छ ।   

( कान्तिपुर दैनिक )