मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
News Desk
Mar-13 , 2022 तारिख 12:02 बेलुका

मोरङ — २९  फागुन २०७८   

मोरङ , मोरङको रंगेली नगरपालिका २ मंगलबारेस्थित विराटनगर-आमबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । दुर्घटनामा विराटनगर महानगरपालिका ५ का ४१ वर्षीय बलराम बर्तौलाको मृत्यु भएको हो । मृतकका काकाको छोरा १६ वर्षीय कमल भनिने कुनाल बर्तौला घाइते भएको जिल्ला प्रहरी मोरङका डीएसपी मञ्जिल मुकारूङले बताए ।

घाइते कुनालको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । प्रदेश नम्बर ०१-०४-००१ प ७१६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको उनले बताए । प्रहरीका अनुसार मोटरसाइकलमा पछाडि सवार बलरामको उपचारका लागि कोसी अस्पताल पुर्‍याएपछि मृत्यु भएको थियो ।    

( कान्तिपुर दैनिक )