अस्पताल जान मान्दैनन् कुष्ठरोगी
News Desk
Mar-13 , 2022 तारिख 12:13 बेलुका

धनुषा — २९  फागुन २०७८  

धनुषा , नेपालमा वार्षिक रूपमा पत्ता लाग्ने कुष्ठरोगका बिरामीमध्ये झन्डै ४० प्रतिशत जति मधेस प्रदेशका हुने गरेको कुष्ठरोग नियन्त्रणमा काम गर्दै आएको ‘एनएलआर नेपाल’ को अध्ययनले देखाएको छ । कुष्ठरोगको उपचार र औषधि अस्पतालमा निःशुल्क उपलब्ध भए पनि रोग लुकाउँदा कुष्ठरोगीको संख्या थपिँदै गएको उक्त संस्थाले जनाएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य व्यवस्थापन सूचना केन्द्र (एचएमआईएस) का अनुसार पनि गत आर्थिक वर्ष ०७७/०७८ मा मधेस प्रदेशका ८ जिल्ला र १ सय ३६ नगरपालिकामा मात्रै ६ सय ७४ नयाँ कुष्ठरोगी भेटिएका थिए । यो कुल संक्रमित संख्याको ३४ प्रतिशत हो । आर्थिक वर्ष ०७५/०७६ मा मुलुकभर ३ हजार २ सय ८२ नयाँ रोगी भेटिएकामा ४५ प्रतिशत अर्थात् १ हजार ४ सय ८४ जना मधेस प्रदेशका थिए । प्रदेशका ८ जिल्लामध्ये धनुषा र महोत्तरीमा कुष्ठरोगीको संख्या धेरै छ । कुष्ठरोग नियन्त्रणमा काम गर्दै आएको ‘एनएलआर नेपाल’ का उपनिर्देशक नन्द बाँस्तोलाले पछिल्लो १३ वर्षमा धनुषामा १ सय ७५ बालबालिकासहित १ हजार ६ सय २६ जना र महोत्तरीमा २ सय १८ बालबालिकासहित १ हजार ७ सय ७५ जना कुष्ठरोगका बिरामी भेटिएको तथ्यांक प्रस्तुत गरे । सोमबार जनकपुरमा आयोजित जिल्लास्तरीय कुष्ठरोगसम्बन्धी योजना तर्जुमा तथा अभिमुखीकरण कार्यक्रममा उनले उक्त तथ्यांक सुनाएका थिए ।

‘नेपालमा वार्षिक रूपमा पत्ता लाग्ने नयाँ कुष्ठरोगका बिरामीमध्ये ४० प्रतिशत जति मधेस प्रदेशका हुने गरेका छन्,’ बाँस्तोलाले भने, ‘नयाँ बिरामीमध्ये पनि बालबालिकामा संक्रमण पुष्टि हुने दर उच्च छ । रोगको सर्ने क्रम पनि व्यापक छ भने समयमै रोग पत्ता लगाउन नसकिएको पक्ष पनि स्पष्ट छ ।’ उनका अनुसार दुवै जिल्लामा कुष्ठरोगीको सम्पर्कमा आउनेमा रोगको कीटाणु सर्दा रोग न्यूनीकरण गर्न चुनौती भएको छ । रोग रोकथाम र न्यूनीकरणका लागि औषधि सेवन गरे पनि नयाँ रोगीको संख्यामा वृद्धि भएपछि विज्ञहरूले उपचार शैलीमा समेत परिमार्जन गर्न सुझाएका छन् । कुष्ठरोगी भएको परिवार र समुदायमा रोग फैलन नदिन एक मात्रा खुवाइने गरिएको ‘रिफाम्पिसिन’ औषधिको अतिरिक्त मात्रा खुवाउनुपर्नेमा बाँस्तोलाले जोड दिए । ‘रिफाम्पिसिन औषधिको एक डोजले पूर्ण प्रभाव पार्न नसकेकाले धनुषा र महोत्तरीमा कुष्ठरोगीको संख्या घटाउन अतिरिक्त औषधि दिनु आवश्यक छ,’ उनले भने, ‘जोखिम न्यूनीकरणसहित रोगको सर्ने क्रमलाई रोक्न कुष्ठरोगविरुद्धको बहुऔषधि पद्धति कार्यक्रममा थप परिमार्जनको आवश्यकता छ ।’

उनका अनुसार बंगलादेशको एक अध्ययनले कुष्ठरोग प्रभावित व्यक्तिको नजिक रहने व्यक्तिमा ब्याक्टेरियाको ठूलो संख्या पाइएकाले रिफाम्पिसिनको प्रभावकारिता २४ प्रतिशत मात्र रहेको देखाएको छ । कुष्ठरोग प्रभावित व्यक्तिहरूको सम्पर्कमा रहेका व्यक्तिलाई एक मात्रा रिफाम्पिसिनको सट्टा रिफाम्पिसिन र क्लारिथ्रोमाइसिन प्रत्येक चार महिनाको अन्तरमा ३ पटक खुवाउने गरी कार्यक्रम अघि बढाइएको छ । सन् २०२५ सम्ममा महोत्तरी र धनुषामा कुष्ठरोगको संक्रमणलाई ५० प्रतिशतले र सन् २०३० सम्ममा ९५ प्रतिशतभन्दा बढी न्यूनीकरण गर्ने लक्ष्य लिइएको पनि उनले बताए । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेशव साहले गम्भीर समस्या र परिवारमा क्षति नपुगेसम्म रोग लुकाउने परम्पराले मधेस प्रदेशमा कुष्ठरोग न्यूनीकरण गर्न समस्या भएको बताए । ‘रोग लुकाउँदा परिवारमा रोगीको संख्यामा वृद्धि भएको छ,’ डा. साहले भने, ‘कुष्ठरोगले शरीरमा विकृति ल्याएपछि मात्र उपचारको खोजी गरेको पाइएको छ । न्यूनीकरणका लागि जनचेतना आवश्यक छ ।’

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले नीति र रणनीति कमजोर हुँदा ४ हजार वर्ष पुरानो कुष्ठरोग अझै नियन्त्रण हुन नसकेको बताए । स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मीलाई कुष्ठरोग नियन्त्रणका लागि तालिम दिए पनि प्राथमिकतामा नपरेको उनको भनाइ छ । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवले जनप्रतिनिधिलाई कुष्ठरोगबारे जानकारी नहुँदा स्थानीय तहमार्फत नियन्त्रणका लागि प्रयास गर्न नसकेको स्विकारे । रोग नियन्त्रण र उपचारका लागि स्थानीय तहमार्फत स्वास्थ्य संस्थालाई सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए । कुष्ठरोग रोकथामसम्बन्धी योजना तर्जुमा तथा अभिमुखीकरण कार्यक्रममा धनुषाका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतसमेत सहभागी थिए ।    

( कान्तिपुर दैनिक )