News Desk
म्याग्दी — २९ फागुन २०७८
म्याग्दी , ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन महिलाहरू नौमती बाजा बजाउँदै सडकमा निक्लेपछि हेर्नेको भीडै लाग्यो । परम्परादेखि पुरुषले मात्र बजाउने गरेको नौमती महिलाले बजाएको देख्दा धेरैले अनौठो माने । नौमती बाजा बजाउने महिला क्षत्री, बाहुन समाजका थिए । हिन्दु समाजमा नौमति भन्नेबित्तिकै दमाइ जातिले बजाउने बाजा भन्ने बुझाइ थियो । अब नौमती बाजा जाति विशेषले मात्र बजाउने बाजा रहेन, सबै जातिका महिला र पुरुषले बजाउन थालेका छन् । सामाजिक मर्यादाको कारण देखाउँदै परम्परागत रूपमा बाजा बजाउनेले पेसा परिवर्तन गर्न थालेपछि लोपोन्मुख नौमती बाजा संरक्षणमा अन्य जातिका मान्छे पनि सक्रिय हुन थालेका हुन् । नौमती बजाउन बेनी–४ राक्सेका ११ महिलाले २ वर्षअघि सामाजिक विद्रोह गरेका थिए । महिलाले बजाएको नौमती सुन्दा जति रमाइलो हुन्थ्यो, घरबाट बाजा समाउन निक्लन भने यहाँका महिलाले धेरै लान्छना खेप्नुपरेको थियो ।
नौमती बजाउनेमा ३५ देखि ५५ वर्ष उमेर समूहका महिला छन् । ‘बाहुन समाजमा नौमती समाउन र बजाउन कहाँ सजिलो थियो र ?’ महिला नौमती बाजा समूहकी संयोजक हीरा पौडेलले भनिन्, ‘थुप्रै अपमान, हेलाहोचो र खिसीट्युरी सहेका छौं । अपमानको विष पिएर सरस्वतीको वाहन समाएका हौं, कर्म बनाउने निर्णय गरेका हौं । समाज परिवर्तन गर्न भाषणभन्दा काम गर्न कोही अगाडि सर्नै पर्थ्यो ।’ समूहमा हीरा पौडेल र मैना खत्रीले सहनाई बजाउँछन् भने लक्ष्मी पौडेल, राममाया किसानले ट्याम्को बजाउँछन् भने झ्यालीमा भगवती सुवेदी छिन् । गीता कार्की र नन्दकली शर्माले कर्नाल फुक्छन् । नर्सिंगा भने विष्णु विकले बजाउँछिन् । शान्ति, मीना, लक्ष्मीले डिलकुमारी बानियाँलाई दमाहामा पनि साथ दिन्छन् । पञ्चेबाजाको समूहमा पाँच किसिमका एकसरा बाजाहरू सहनाई, ढोलक, झ्याली, दमाहा र ट्याम्को पर्छन् भने कर्नालको जोडी, नर्सिंगा र झ्यालीसमेतका नौ वटा बाजाको समूहलाई नौमती बाजा भनिन्छ ।
नौमती बजाउन भने उनीहरूले प्रकाश दर्जीबाट सिकेका हुन् । महिलाले नौमती बजाउन थालेपछि बेनी–४ वडा कार्यालयले महिला लक्षित कार्यक्रमअन्तर्गत एक लाख ५० हजार खर्चेर बाजा सेट र एक लाख रुपैयाँ खर्चेर पोसाक तथा मर्मत खर्च दिएको हो । ‘बाजा बजाउने नहुँदा नौमती नै थन्किसकेका थिए । हामीले यसको लय र धुनको संरक्षण चाहेका हौं,’ दमाहा बादक ५० वर्षीया बानियाँले भनिन, ‘महिलालाई आर्थिक उपार्जनको नयाँ स्रोत देखाउन चाहेका हौं । युवा पिँढीलाई नौमतीको राग, लय र धुनमा आकर्षण गर्नु तथा परम्परागत नौमती बाजाको संरक्षण गर्नु अर्को उद्देश्य हो ।’ समुदायले पनि विस्तारै महिलाको नौमती बाजालाई स्वीकार गर्न थालेको छ । विभिन्न कार्यक्रम, सांस्कृतिक पर्व, व्रतबन्ध, चौरासी पूजासमेतका धार्मिक कार्यमा पनि माग बढेको छ । महिलाले नौमती बाजा बजाउन शुल्क तोकेका छन् । बाजा बजाएको १५ हजारदेखि ३० हजारसम्म ज्याला तोकेका छन् ।
( कान्तिपुर दैनिक )