News Desk
सुर्खेत — ३० फागुन २०७८
सुर्खेत , कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको कर्णाली उत्सव ‘कुडा कर्णाली’ मा कांग्रेस महामन्त्री गगन थापा र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कर्णालीका समस्या र समृद्धिबारे बहस गरेका छन् । ‘विकटताले घेरेको कर्णाली नीति र नियमभन्दा पनि नियतिमा चलेको छ,’ मन्त्री झाँक्रीले भनिन्, ‘तर कर्णाली सम्भावनै सम्भावनाको क्षेत्र हो ।’ पूर्वस्वास्थ्यमन्त्री थापाले कर्णालीको जल, जमिन र जडीबुटीलाई मात्रै सदुपयोग गर्न सके पनि कर्णाली सबैभन्दा समृद्ध प्रदेश हुने बताए । भोटका लागि मात्र राजनीति गर्ने प्रणाली त्याग्नुपर्नेमा दुवै नेताको जोड छ । नेपालमा भित्रिएको एमसीसीको विरोध गर्नु ‘पागलपन’ रहेको मन्त्री झाँक्रीको भनाइ छ ।
उनले जताबाट लगानी भित्रिए पनि विकास भित्रिने बताइन् । ‘कर्णाली विकट हैन, यसलाई हेर्ने दृष्टिकोण विकट हो,’ उनले भनिन्, ‘अब नेपालमा जनसंख्या र भूगोल दुवैका आधारमा बजेट विनियोजन गर्ने प्रणालीको विकास गर्नुपर्छ ।’ उनले ‘पावर’ र पहुँचका भरमा बजेट थुपार्दा दुरुपयोग भएको बताइन् । नागरिकलाई अनुदानले नभई नेताहरूले बिगारेको झाँक्रीको तर्क छ । थापाले अनुदान माग्नु आफूहरूको हक भएको बताए । ‘दिनमा ५ लाख जनशक्ति बाहिर पठाउन तयार हुने, तर अनुदानको रकम लिएर योजना बनाउन किन लाज मान्ने ?,’ उनले भने, ‘एमसीसीबारेको भ्रम चिर्न गाउँगाउँमा अभियन्ता खटाउन जरुरी छ ।’
उनले स्थानीय तहको चुनावमा गठबन्धन बनाएर जाने विषयमा कांग्रेसले तत्काल नसोचेको बताए । गठबन्धन र चुनावी तालमेल फरक विषय भएको टिप्पणी गर्दै उनले आगामी चैत दोस्रो साताभित्र गठबन्धनको विषयमा निर्णय गरिने उनको भनाइ छ । मन्त्री झाँक्रीले गठबन्धन सरकारले तीनवटै तहको निर्वाचन गराउने सन्दर्भमा कुनै अलमल नभएको बताइन् । यद्यपि यही गठबन्धनबीच चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा पार्टीभित्र ‘लबिइङ’ भइरहेको उनको भनाइ छ । तल्लो तहको पार्टी समिति र नेताहरूको रायका आधारमा केन्द्रीय समितिले गठबन्धनबारे निर्णय गर्ने थापाले बताए ।
( कान्तिपुर दैनिक )