News Desk
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नवनिर्वाचित कार्यसमितिको भावी कार्ययोजना सार्वजनिक गरेको छ । महासंघले बुधबार नयाँ वानेश्वरमा पत्रकार सम्मेलन आयोजना गरि आफ्नो भावी कार्ययोजना बारे अवगत गराएको हो । महासंघका नवनिर्वाचित अध्यक्ष उमेश प्रसाद सिंहले कार्यक्रम माझ महासंघको भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिको भावी कार्ययोजना
१. मुलुकभर संचालित लघु, घरेलु तथा साना उद्योगहरुको स्तरोन्नती, पुनरुत्थान र विस्तारका कार्यक्रमहरु संचालन गर्न पहल गर्ने र उद्यमीको क्षमता अभिब्रिद्धी गरि गुणस्तरिय वस्तु उत्पादकत्व बढाउने कार्यक्रम संचालनमा सहयोग र समन्वय गर्ने ।
२. स्थानिय निकाय मार्फत माहासंघका पालिका, जिल्ला तथा प्रदेश संघहरुमा कार्यक्रमहरु ल्याउने प्रयास गर्ने । स्थानिय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भएको स्थानिय राजश्व परामर्श समितिमा माहासंघको हरेक स्थानिय तहको प्रतिनिधीत्वको सुनिश्चितता गर्ने ।
३. नेपाल सरकारसँगको सहकार्यलाई थप मजबुत बनाउदै लघु घरेलु तथा साना उद्योगको प्रबर्धन र विकासमा सहयोग र सहकार्य गर्न चाहने सम्भावित दातृ निकायहरुको पहिचान गरि कार्यक्रम संचालन गर्न पहल गर्ने ।
४. नेपालका लघु, घरेलु तथा साना उद्योगहरुको विद्युतिय तथ्यांक अद्यावधिक गरी राख्ने ।
५. विद्यमान नीति, ऐन, तथा कार्यविधिहरुलाई लघु, घरेलु तथा साना उद्योग मैत्री बनाउन पहल र प्रयत्न गर्ने । सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने ।
६. कोरोनाका कारणले स्थगित भएको अन्तरास्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना गरि स्वदेशी उत्पादनको बजार प्रबर्धन र विकास गर्न सहयोग गर्ने ।
७. लघु, घरेलु तथा साना उद्यमीहरुलाई आवश्यकता अनुसार पर्याप्त मात्रामा उद्योग प्रबर्धन र विकासका कार्यक्रमहरु उपलब्ध गराउन नसकेको अवस्थालाई मध्येनजर गर्दै आर्थिक व्यवस्थापनलाई मजबुत बनाउदै लघु, घरेलु तथा साना उद्योगको विकास र प्रबर्धनका लागि पर्याप्त कार्यक्रमहरु उपलब्ध गराउन पहल गर्ने ।
८. माहासंघको आफ्नो कार्यालय भवन निर्माण गरि लघु, घरेलु तथा साना उद्यमीहरुलाई सेवा प्रदान गर्ने ।
९. पहिलो चरणमा ७ वटै प्रदेशका सदरमुकाम रहेका जिल्लाहरुको संगठन सुदृढ र जिल्ला संघको भवन निर्माणका लागि प्रयास गर्ने । दोस्रो चरणमा प्रत्येक प्रदेशका ४ जिल्लाहरुको सुदृढिकरणका लागि आवश्यक रणनीती बनाई लागु गर्ने ।
१०. प्रदेश संघहरुलाई सुदृढ बनाउन प्रदेश सरकारसँग सहकार्य गर्ने र बाँकी रहेका स्थानिय तहमा माहासंघको संगठन निर्माण गर्ने ।
११. ७ वटै प्रदेशमा वित्तिय साक्षरता कार्यक्रम संचालन गरि उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सहजिकरण गर्ने ।
प्रस्तुत कार्ययोजना र नसमेटिएका अन्य विविध सवाल माथि केन्द्रित रहदै संचारकर्मीहरुले राय एवम् धारणा राखेका थिए भने अध्यक्ष सिंह, महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरी र उपाध्यक्ष (महिला) शोभा गुरुङले जवाफ पेश गरेका थिए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर कँडेल, वस्तुगत उपाध्यक्ष मोहन कटुवाल, एसोसिएट उपाध्यक्ष शान्ता वास्कोटा कोइराला, महासचिव डम्बर प्रसाद रेग्मी, केन्द्रिय महिला उद्यमी समितिमा रोशनी उपाध्याय, पूर्व अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।