News Desk
धादिङ — ०३ चैत्र २०७८
धादिङ , पत्रकार राजेन्द्रप्रताप शाहको निधन भएको छ । बुधबार साँझ छोरीलाई होस्टलमा लिन जाने क्रममा प्रेसर लो भएर बाटोमै ढलेका शाहको उपचारको क्रममा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो । शाहको बिहीबार बिहान १ बजे निधन भएको परिवारले जनाएको छ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ मैदीमा जन्मिएका शाह परिवारसहित काठमाडौंमा बस्दै आइरहेका थिए । पूर्व कान्तिपुरकर्मी शाहले आँखा, दम र प्रेसरको समेत उपचार गराइरहेका थिए । २०१८ साल वैशाख २९ गते जन्मिएका शाहका श्रीमती र एक छोरी छन् । शाह नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका संस्थापक सचिव एवम् पूर्वअध्यक्ष हुन् ।
कम्युनिस्ट आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका शाह पछि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । शाह साबिकको मैदी गाविसको पूर्वउपाध्यक्ष, जिल्ला विकास समितिको पूर्व सदस्य, प्रेस युनियन धादिङको पूर्वसचिव, कांग्रेसको महाधिवेशन प्रतिनिधि, छलफल चौतारीको पूर्वसंस्थापक अध्यक्ष समेत थिए । शाहले नेपाल पत्रकार महासंघ धादिङले आफ्ना संस्थापक अध्यक्ष स्व. सीतारामप्रसाद वर्माको स्मृतिमा स्थापना गरेको सीतारामप्रसाद वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार, रिर्पोटर्स क्लबले प्रदान गरेको सहिद जगत प्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार लगायत एक दर्जनभन्दा बढी पुरस्कारसमेत पाएका थिए ।
( कान्तिपुर दैनिक )