News Desk
काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । बिहीबार प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ । यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ । एक भन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले एकै समयमा एकै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न पाइनेछैन् ।
सार्वजनिक भवन, सार्वजनिक सडकका पोल वा कुनै सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न पाइनेछैन् । जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम बिहान आठ बजेदेखि साँझ सात बजेसम्म मात्र गर्न पाइनेछ ।
निर्वाचन प्रसार प्रचारमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्न समेत पाइनेछैन । निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुई वटा दुई पांग्रे वा तीन पांग्रे वा चार पांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चलने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा चारवटा घोडा प्रयोग गर्न सक्नेछन् ।
राजनीतिक दलको प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न पाउनेछन् । निर्वाचन प्रचार प्रसारका लागि विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र नदिइने आयोगको आचारसंहितामा उल्लेख गरिएको छ ।
स्थानीय तहको उम्मेदवारको पेस्की र असुलउपर गर्नुपर्ने बेरुजु फछ्र्योट हुनुपर्ने
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फछ्र्योट हुनुपर्ने जनाएको छ । निर्वाचन आयोगमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा उम्मेदवार दिने उम्मेवारको असुलउपर गर्नुपर्ने भए सो पनि फछ्र्योट भएको हुनुपर्ने बताए । ‘आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्ने हालका स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भएको भए फछ्र्योट भएको हुनुपर्छ’, उनले भने, ‘असुलउपर गर्नुपर्ने गरी किटानीका साथ उल्लेख गरेको बेरुजु छ भने त्यो पनि फछ्र्योट हुनुपर्छ ।’
स्थानीय तहका बेरुजु भए पनि उम्मेदार हुने व्यक्तिको पेस्की बेरुजु र असुलउपर हुनुपर्ने बेरुजु फछ्र्योट भएको हुनुपर्ने उनको भनाइ छ । आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता, २०७८ आज राजपत्रमा प्रकाशित भएको जानकारी दिँदै प्रवक्ता शर्माले आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुने बताए । आचारसंहिता पालनाको अनुगमनका लागि विभिन्न संयन्त्र बनाइएको उल्लेख गर्दै उनले आचारसंहिताको उल्लङ्घन गर्ने उम्मेदवारलाई निर्वाचन ऐनअनुसार कारबाही हुने बताए । ‘उम्मेदवारलाई आचारसंहिताको पूर्ण पालना गर्न आयोगले निर्देशन दिन सक्छ, आयोगको निर्देशन पालना नगरे रु एक लाखसम्म जरिवाना हुनसक्छ’, प्रवक्ता शर्माले भने, ‘आचारसंहिता उल्लङ्घनका कारण स्वच्छ, भयरहित र मर्यादित वातावरणमा निर्वाच सम्पन्न गर्न बाधा पुग्ने भएमा आयोगले सम्बन्धित उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्छ ।’ निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आयोग आचारसंहिताको पालना गराउन पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ छ ।
स्थानीय तह निर्वाचनका लागि आवश्यक मतदाता नामावली, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्री छपाइका लागि आज बोलपत्र प्रकाशन गरिएको आयोगले जनाएको छ । आयोगले निर्वाचनमा खटिने जनशक्तिको प्रतिव्यक्ति रु २० लाखको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिएको जनाएको छ । आयोगले दर्ता भएका राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ राजनीतिक दललाई निर्वाचनमा भाग लिने प्रयोजनका लागि यही चैत ६ गतेभित्र जिल्लास्तरको सङ्गठन संरचनाको विवरण पेश गर्न आग्रह गरेको छ ।