लिमीका बासिन्दाले स्थानीय तहको निर्वाचनअघि नै जनप्रतिनिधि चुनेका छन् ।
News Desk
Mar-20 , 2022 तारिख 12:03 बेलुका

हुम्ला — ०६  चैत्र २०७८     

हुम्ला , नाम्खा गाउँपालिका–६ लिमीका बासिन्दाले स्थानीय गाउँ भेला गरी वडाध्यक्ष र सदस्य  तहको निर्वाचनअघि नै जनप्रतिनिधि चुनेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ । झन्डै १ सय ५० घरधुरी रहेको लिमीमा जाङ, हल्जी र तिल गरी ३ गाउँ छन् । गाउँ भेलाबाट वडाध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन् । सदस्यहरूमा हल्जीबाट छिरिङटुङडुप तामाङ, जाङबाट पुटी तामाङ र तिलबाट टुङडुप लामा चयन भएका छन् । उनीहरू सबै नयाँ हुन् । स्थानीयले अब गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गर्ने भएका छन् । लिमीका सबै घरबाट एक/एक जना उपस्थित गराएर बैठक डाकिएको स्थानीय गिरमेत तामाङले बताए । उनका अनुसार २०७४ को स्थानीय तह निर्वाचनअघि पनि यसरी नै जनप्रतिनिधि चुनिएको थियो ।

लिमीका स्थानीय बासिन्दाको आफ्नै नियम छ । खेतबारी जोत्दा र अन्न भित्र्याउँदा गाउँवासीको बैठक बस्ने गर्छ । गाउँमा अध्यक्षको निर्देशनबिना कुनै पनि स्थानीयले काम गर्न पाउँदैनन् । सार्वजनिक मात्रै होइन, निजी कामका लागि पनि अध्यक्षको अनुमति चाहिने अध्यक्ष तामाङले बताए । उनका अनुसार गाउँ भेलामा उपस्थित हुन नसक्नेले १ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने चलन छ । बैठक बस्ने मिति, समय र स्थान पहिले नै तोकिएको हुने उनले जानकारी दिए । बैठकमा १६ वर्ष उमेर कटेका र ६० वर्ष ननाघेका घर मूली मात्र बस्न पाउँछन् । ‘यो कुनै नौलो कुरा भएन, यसअघि पनि यसरी नै जनप्रतिनिधि चुनिएका थिए,’ नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले भने, ‘आफ्नो वडामा अनावश्यक राजनीति हुन नदिन गाउँ भेलामार्फत प्रतिनिधि चुनेका हुन् ।’   

लिमीका स्थानीय बासिन्दाले महत्त्वपूर्ण विषयमा निर्णय लिन हरेक वर्ष कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता बैठक बस्छन् । जसबाटै गाउँमा कार्यान्वयन गरिने योजनाहरूको बाँडफाँट गरिन्छ । गत मंसिरमा लिमीमा खाद्यान्न अभाव हुँदा वडाध्यक्ष तामाङले काठमाडौं पुगी खाद्यान्न अभावको समस्या समाधान गरेका थिए । आलु र उवा मात्रै उत्पादन हुने लिमीमा बर्सेनि खाद्यान्न अभाव हुन्छ । तामाङको काम कारबाही सन्तोषजनक भएकाले फेरि उनैलाई वडाध्यक्ष तोकिएको स्थानीय डिचिन तामाङले बताइन् । भारी हिमपात भएका कारण यो वर्ष लिमीका बासिन्दाको नामावली संकलन नभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयले १७ मंसिरदेखि ९ पुससम्म नामावली संकलन गरेको थियो । ‘कार्यक्रम हुँदा लिमीमा भारी हिमपात भएको थियो, त्यसैले मतदाता नामावली अद्यावधिक गर्न सकिएन,’ जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले भने ।