News Desk
हेटौंडा — ०६ चैत्र २०७८
हेटौंडा , गर्मीयाम लागेपछि वनजंगलमा डढेलो लाग्ने गर्छ । डढेलो नियन्त्रणका लागि जिल्ला वन कार्यालय हेटौंडाले डढेलो नियन्त्रण दस्ता टोली नियुक्त गरेको छ । उक्त दस्ता टोलीले वनजंगलको अग्निरेखा सफा गर्नुका साथै वनजंगलमा लागेको डढेलो नियन्त्रण गर्ने कार्यमा खटिने जिल्ला वन कार्यालय हेटौंडाका प्रमुख शिव सापकोटाले बताए । उनले भने, ‘तीन महिनासम्म डढेलो नियन्त्रण दस्ता टोली सक्रिय रहनेछ ।’ जिल्ला वनले १० जनाको डढेलो नियन्त्रण दस्ता राखेको हो । उक्त दस्तालाई विशेषगरी बकैया र वाग्मती गाउँपालिकाका वनजंगलमा खटाइने वन कार्यालयले जनाएको छ ।
उक्त टोलीलाई आगो नियन्त्रण लिन आवश्यक पर्ने अग्नि नियन्त्रण सामग्री र पोसाकहरू उपलब्ध गराएको वन कार्यालय प्रमुख सापकोटाले बताए । कार्यालयले उनीहरूको जीवन बिमा पनि गरेको छ । हेटौंडा उपमहानगर र मकवानपुरगढी गाउँपालिकाभित्र पर्ने वनजंगलको डढेलो नियन्त्रण गर्न सशस्त्र वन रक्षकको २ वटा टोलीलाई एलर्डमा राखिएको वन कार्यालय हेटौंडाले जनाएको छ । जंगलमा लागेको डढेलो नियन्त्रण गर्न दस्ता टोलीमात्र होइन वन कार्यालयले ट्र्याक्टरमा ५ हजार लिटर पानी अट्ने क्षमताको ट्यांकर पनि तयारी हालतमा राखेको छ ।
फोर्सले टाढा/टाढा पानी फाल्नका लागि मोटर ट्र्याक्टरमा राखिएको छ । ‘डढेलो नियन्त्रण गर्नका लागि पूर्वतयारी गर्नुका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ कार्यालय प्रमुख सापकोटाले भने, ‘जंगलमा डढेलो लगाउनेलाई पनि कानुनी दायरामा ल्याउनेछौं ।’ गत वर्ष मकवानपुरमा १ सय ४३ स्थानमा डढेलो लागेको थियो । डढेलोले ७ हजार २ सय ३४ हेक्टर सामुदायिक वनको जंगलमा क्षति पुर्याएको थियो । गत आवमा डढेलोले घाटगद्दी गरेर राखेको ७ हजार ५ सय क्युफिट काठ नष्ट गरेको थियो । ब्रह्मदेवी सामुदायिक वन धियाल र कालीदेवी सामुदायिक वनको काठमा डढेलो नष्ट गरेको वन कार्यालयले जनाएको छ ।