खुला प्रतिस्पर्धाबाट न्यायाधीश बने दिलकुमार बर्देवा
News Desk
Mar-21 , 2022 तारिख 10:45 बिहान

झापा — ०७  चैत्र २०७८   

झापा ,दलितहरू आरक्षणमा मात्रै भर पर्दैनन्, खुला प्रतियोगितामा भिड्न पनि उत्तिकै सक्षम छन् भन्ने उदाहरण हुन दिलकुमार बर्देवा । २०७६ मा खुला प्रतिस्पर्धाबाट न्यायाधीश बने ।  खुला प्रतिस्पर्धामा न्यायाधीश बन्ने बर्देवा दलित समुदायका पहिलो प्रतिनिधि हुन् । उनले निरन्तर खुला प्रतिस्पर्धा रोजे । सँगै हात पारिरहे सफलता । ‘सानैदेखि संघर्ष गर्न सिकें, त्यही संघर्षले यहाँ ल्याइपुर्‍यायो,’ न्यायाधीश बनेपछि जिल्ला अदालत झापा आएका बर्देवाले सुनाए, ‘संघर्ष, प्रयत्न र प्रतिस्पर्धा गर्न मज्जा लाग्छ ।’ पूर्वी पहाड ताप्लेजुङको विकट गाउँ मामाङ्खेमा ठिकै आर्थिक हैसियत भएको दलित परिवारमा जन्मिएका बर्देवाको रुचि शिक्षक बन्ने थियो । शिक्षण पेसा गर्दागर्दै अचानक निजामती सेवाप्रति उनको झुकाव बढ्यो । निजामतीमा पनि विद्यालय निरीक्षक ताकेका थिए तर लक्ष्य एक्कासि न्याय सेवातिर मोडियो । ‘बाटो हिँड्दै गएपछि कता–कता पुगिने, थाहा हुन्न रैछ,’ बर्देवाले भने, ‘गाउँमै बसेर केटाकेटी पढाउँछु भन्ने मात्रै थियो, अहिले कहाँबाट कहाँ आइपुगिएछ ।’ आफैं पढेको स्कुलको शिक्षकदेखि न्यायाधीश बन्दासम्म स्वाभाविक बढुवा नजुरेको उनी बताउँछन् ।

‘मेरो लागि प्रतिस्पर्धा मात्रै जुरेको रहेछ,’ उनले भने । लोक सेवा आयोगबारे बेलाबेला आलोचना हुने गर्छ । विश्वसनीयतामाथि प्रश्न पनि उठ्ने गर्छ । तर बर्देवाको चाहिँ लोक सेवाप्रति निकै भर र विश्वास छ । उनले अधिकृत, उपसचिव र जिल्ला न्यायाधीश लोक सेवाबाटै पास गरे । जसका कारण पढ्ने र मिहिनेतीले लोक सेवा पास गर्छ भन्ने लाग्छ उनलाई । समावेशिताकै कारण आफू न्यायाधीशसम्म बन्न पुगेको बताउँछन् । ‘२०६६ मा दलित आरक्षणबाट लोक सेवा परीक्षा पास नगरेको भए म अहिले यहाँ हुन्थें/हुन्नथें थाहा छैन,’ बर्देवा भन्छन्, ‘समावेशिताले बाटो देखाइदियो तर म निरन्तर खुला प्रतिस्पर्धामै उत्रिएँ ।’ उनले सर्वोच्च अदालतसम्म पुग्ने सपना साँचेर राखेका छन् । भन्छन्, ‘समय परिस्थितिले कहाँ पुर्‍याउँछ, हेर्दै जाऊँ ।’ घरनजिकै स्कुल थियो । ६ वर्ष जतिको उमेरमा बुबाले स्कुल भर्ना गराउन लागेका थिए । एक मानो चामल, धूप, अक्षता चढाएपछि स्कुल भर्ना हुन्थ्यो । गाउँको स्कुल ३ कक्षासम्म मात्रै थियो । दाइहरूको दौराको फेरो समात्दै उनी पढ्न याम्फुदिन पुगे । केही महिनापछि प्रावि गाउँमै आयो । फर्किएर ५ कक्षासम्म पढे । पास गरेपछि छिमेकी जिल्ला पाँचथरको थर्पु माविमा पढ्न गए । पहिलो, दोस्रो हुँदै कक्षा १० पुग्दा ‘होलफर्स्ट’ भए ।

२०४७ मा आफ्नो विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी पास गर्नेमध्ये उनी पहिलो थिए । एसएलसीको नतिजा गोरखापत्रमा छापिन्थ्यो । गाउँमा पत्रिका ढिला आउँथ्यो । कञ्चनजंघा निमाविमा काम गर्ने सिरहाका शिक्षकले घरबाट फर्किंदा गोरखापत्र ल्याए । बर्देवाले सुनाए, ‘जुन घरभित्र रिजल्ट हेरिँदै थियो, त्यहाँ मलाई प्रवेश थिएन, मूलढोका बाहिरबाटै मैले फर्स्ट डिभिजनमा पास भएको थाहा पाएँ ।’ १४५८ ‘बी’ एसएलसी सिम्बोल नम्बर उनलाई कण्ठै छ । पहिलो श्रेणीमा पास भएको कुरा घरमा सुनाइनसक्दै बुबाले हातको सिको फाइभ घडी फुकालेर लगाइदिए । विज्ञान पढ्नुपर्छ भनेर धेरैले उचाले । उनी पनि हौसिए । ओभरसियर पढ्न काठमाडांैं पुगे । नमिलेपछि फर्किएर इलाममा शिक्षा संकायमा अध्ययन सुरु गरे । इलाममा पढ्दै थिए । आफैं पढेको स्कुलमा शिक्षक बन्ने मौका मिल्यो । स्कुलको सर्त के थियो भने जसले कम तलब लिन्छ, उसैलाई शिक्षक बनाउने । ‘तलब डाँक घटाघटमा मैले जागिर पाएँ,’ उनले भने । पछि जागिर छाडेर स्नातक गर्न गए । परीक्षा दिएर फर्किएपछि फेरि दोस्रो शिक्षक चाहियो, बर्देवा नै छानिए । पछि मावि तहमा जागिर सुरु गरेर चाक्सिबोटेमा बसे । ०५२ मा शिक्षा सेवा आयोगमा परीक्षा दिएका थिए । ०६०/६१ सालमा रिजल्ट भयो, निमाविमा होइन, प्राविमा नाम निस्कियो ।

त्यो बेला पनि उनी चर्चामा आए, धेरैले दिएको परीक्षामा उनी मात्रै उत्तीर्ण भएका थिए । माओवादी सशस्त्र द्वन्द्वको समय थियो । भएका शिक्षक विस्थापित गरेर नयाँ राख्न नपाइने माओवादीको धम्कीपछि उनले जागिर खान पाएनन् । पछि विद्यालय व्यवस्थापनले कसोकसो चाँजो मिलाएर दरबन्दीमै ल्यायो । पढाउँदै थिए, एक दिन उनलाई लाग्यो अब लोक सेवातिर जानुपर्छ । विराटनगर पुगेर लोक सेवा आयोगको फाराम भरे । न्याय र कानुनमा दलितका लागि भनेर १/१ वटा आरक्षित सिट थियो । बर्देवाले न्याय रोजे । ०६६ मा राजविराज उच्च अदालतमा पहिलो पोस्टिङ भयो । एक वर्षपछि इलाम पुनरावेदन (उच्च) अदालत काज सरुवा मिलाएर आए । पछि झापा जिल्ला अदालतमा तहसिलदार भए । विराटनगर पुनरावेदनमा हुँदा एलएलबी सिध्याए । ‘दिउँसो कार्यालयमा काम गर्थे, बिहान र बेलुका टुप्पी कसेर पढ्थें,’ उनले थपे, ‘अन्ततः उपसचिवमा पनि नाम निस्कियो ।’ पहिलो पोस्टिङ भयो, राजविराज उच्च अदालतमा उपरजिस्ट्रारको पदमा । पछि उच्च अदालतको निमित्त रजिस्ट्रार, स्रेस्तेदार भए । जिल्ला न्यायाधीशको परीक्षा त्यहीं हुँदा लेखेका थिए । खुला प्रतिस्पर्धामै पास गरेर उनी झापा आएका हुन् । झापा जिल्ला अदालतमा करिब दुई वर्षदेखि कार्यरत रहँदा छुवाछूतका मुद्दा एउटा पनि आएको उनलाई थाहा छैन । ‘अदालतमा किन नआएका हुन्, थाहा छैन,’ भन्छन्, ‘यसको अर्थ झापामा छुवाछूत नै छैन भन्ने त हैन होला ।’