News Desk
काठमाडौँ — ०७ चैत्र २०७८
काठमाडौँ , नेपाल प्रहरीमा तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि भएको सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेको छ । वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा कनिष्ठ रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको भन्दै आइतबार तीन डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले लोक सेवा आयोगको ‘उजुरी सुन्ने’ समितिमा निवेदन दिएका हुन् । तीनै जना डीआईजी २०४९ वैशाख १९ मा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसँगै प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको बढुवा समितिले चैत १ मा डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा सिफारिस गरेको थियो । बढुवा सिफारिस भएकामध्ये पन्त आईजीपी थापाका ब्याची हुन् ।
उनले २०७९ वैशाख १९ बाट आईजीपीसँगै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउनेछन् । उजुरी दिने तीन जना डीआईजी पनि आईजीपीसँगै अवकाशमा जानेछन् । आफूहरू सिनियर भएको तर बढुवा समितिले २०४९ चैत १९ मा सेवा प्रवेश गरेका कनिष्ठ उम्मेदवार सिंह र धानुकलाई बढुवा सिफारिस गरेकाले बदरको मागदाबी गरिएको स्रोतले जनायो । यसअघि २०७८ असार १४ मा डीआईजी सहकुलबहादुर थापा एआईजीमा बढुवा हुँदा हाल सिफारिसमा परेकाको कार्यसम्पादन र बढुवा समितिले दिएको नम्बर कम भएको तर अहिले ८ महिनामै पहिलेभन्दा अधिक नम्बर दिएर कसरी बढुवा सिफारिस गरियो भन्ने प्रश्न उजुरीमा गरिएको छ । गत असारमा थापा एआईजी हुँदा उनलाई ६६.५८७२ नम्बर दिइएको थियो । तर, पछिल्लो पटक सिफारिसमा परेका पन्त, सिंह र धानुकलाई क्रमश: ७४.४३४६, ७३.१०२१ र ७१.५८४६ नम्बर दिइएको छ । पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीले पछिल्लो बढुवा सिफारिसमा ज्येष्ठता र कार्यसम्पादन/मूल्यांकनभन्दा सरकारले व्यक्तिकेन्द्रित र तजबिजमा निर्णय गरेको भन्दै यसले प्रहरी संगठन झन् धराशायी बन्दै जाने बताए ।
‘पहिलेको बढुवामा रोजेको व्यक्तिलाई माथि पुर्याउन अर्कोलाई अस्वाभाविक रूपमा नम्बर घटाउने र अहिले अस्वाभाविक रूपमै नम्बर चढाएर रुचाइएको व्यक्तिलाई माथि तान्ने नियतले एआईजीमा सिफारिस गरिएको छ, यसले संस्थागत हितभन्दा व्यक्तिकेन्द्रित लाभमा संगठनलाई लैजान खोजिएको छ, यो गलत छ ।’ डीआईजी ईश्वरबाबु कार्कीले न्यायका लागि निवेदन लिएर जानुपरेको बताए । ‘मेरो उजुरी कुनै पनि व्यक्ति वा संगठन लक्षित होइन, मैले न्याय पाउनुपर्छ भन्नका लागि हो, ऐन/नियमले दिएको सुविधा प्रयोग गरेर बढुवा सिफारिसविरुद्ध गएको हुँँ,’ उनले भने । यसअघि २०४९ चैत १९ मा सेवा प्रवेश गरेका विश्वराज पोखरेल र सहकुल थापा एआईजीमा बढुवा हुँदा उजुरी परेको थिएन । उजुरीकर्ताको मागदाबी पुष्टि नभए अर्को बढुवा मूल्यांकनमा २ नम्बर काटिने व्यवस्था भएका कारण कोही पनि उजुरी लिएर गएका थिएनन् तर यसपटक भने वैशाखमा जसरी पनि अवकाशमा जानैपर्ने भएपछि तीनै जना डीआईजीले आइतबार एआईजी सिफारिसविरुद्ध उजुरी दिएका हुन् । सिफारिसविरुद्ध असन्तुष्टि जनाए पनि एआईजीका दाबेदार वसन्त लामा, उत्तम सुवेदीलगायत डीआईजी भने मौन बसेका छन् । उनीहरू वैशाख १९ पछि पनि एआईजी हुने लाइनमा छन् ।
( कान्तिपुर दैनिक )