News Desk
बैतडी — ०७ चैत्र २०७८
बैतडी , बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका एक जनाको उपचारका लागि डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । आइतबार साँझ पाटनबाट घर पोत्ने माटो लिएर सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन बजार नजिकैको सडकमा दुर्घटनामा परेको हो ।
ट्रकमा सवार ६ जना नै महिला थिए । उनीहरु घर पोत्नका लागि माटो लिन पाटन गएका थिए । घाइतहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । दुई जनालाई अस्पतालले डिस्चार्ज समेत गरिसकेको उनले बताए । दुर्घटना भएलगत्तै ट्रक चालक पाटन–४ का विरेन्द्र खत्री अहिले प्रहरीको सम्पर्कमा आएका र थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।
( कान्तिपुर दैनिक )