पहाडको कोसेली सुन्तला
News Desk
Mar-22 , 2022 तारिख 11:09 बिहान

अर्घाखाँची — ०८ चैत्र २०७८    

अर्घाखाँची , अर्घाखाँचीको पाणिनि गाउँपालिका–१ पणेना सिम्लेका ७५ वर्षीय हुमानाथ पौडेल भारतीय सेनामा जागिरे थिए । ‘खान नपाएर आएका नेपाली’ भन्ने दुर्वचन सुन्नु पर्थ्यो । जब उनी भारतीय पल्टनको जागिर छाडेर गाउँ फर्के, बारीमा सुन्तला रोपे । सबै गाउँलेलाई सुन्तला खेती गर्न लगाए । आफैं बिरुवा उत्पादन गरेर गाउँलेसित अन्न, डोको, नाम्लो, दाउरा र श्रमसित साटेर सुन्तलाका बिरुवा दिए । केही वर्ष पल्टनको जागिर गरेर ०२७ सालमा गाउँ फर्केर सुन्तला खेती गरेका उनको देनबाट सिंगो सिम्ले गाउँ अहिले व्यावसायिक सुन्तला खेतीबाट स्वरोजगार बनेको छ । यहाँ फलेका सुन्तला किन्न तराईका सहरबाट ग्राहक घरमै आउँछन् । केही व्यापारीलाई गाडीबाटै पठाइदिन्छन् । पौडेलको खेतबारीमा मात्रै फल दिने १२ सय सुन्तलाका बोट छन् । त्यसबाट वर्षमा ५ लाख रुपैयाँ आम्दानी हुने उनले सुनाए । ‘अन्नखेती छाडेको धेरै वर्ष भयो, हामीले फलाएको सुन्तला किन्न रूपन्देही, कपिलवस्तु, पाल्पा र सन्धिखर्कका व्यापारी घरमै आउँछन्,’ पौडेलले भने, ‘घरमा आएका पाहुनालाई स्वागत गर्दै सुन्लता चखाउँछौं । उनीहरू भन्छन्– आहा क्या मिठो सुन्तला ।’ उनीसहित यहाँका डेढ सय किसानले बारीमा सुन्तला खेती गरेका छन् । कृषकले उत्पादन गरेको सुन्तला तराईका बजारमा पुग्छ । पहाडको स्वादिलो सुन्तला भन्दै दाना पहेंलो नहुँदै बिक्री भैसक्छन् ।

‘दाना निख्रिसकेपछि फल लाग्दासम्म बोटमा सिँचाइ, गोबर र कम्पोस्ट मल राख्छौं, दाना ठूला तथा लटरम्मै फल्छ,’ उनले भने । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवा सुन्तला उद्यमतिर लागेर मनग्य आम्दानी गरेका छन् । पणेना, पोखराथोकसहित पाणिनिमा यस वर्ष ७ करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ । जिल्लाको छत्रदेव र मालारानी गाउँपालिकाका गाउँमा समेत व्यावसायिक सुन्तला खेती फस्टाएको छ । स्थानीय तह र प्रदेश सरकारले गाउँमा शीतभण्डार (कोल्डस्टोर) निर्माण गरेका छन् । सिम्लेका शिवशक्ति कृषक समूहका पूर्वअध्यक्ष चिरञ्जीवी पौडेलले गाउँका डेढ सय कृषकले व्यावसायिक सुन्तला खेतीबाट मनग्य आम्दानीसँगै स्वरोजगार भएको बताए । वैदेशिक रोजगारी छाडेर सुन्तला खेतीबाट वर्षमा ५ लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । सुन्तलाबाट राम्रो आम्दानी भएकाले पढेलेखेका युवा कृषकको संख्या वृद्धि भएको छ । सुन्तला खेतीमा लहर चलेको छ । सुन्तलाका विरुवा रोपेको तीन वर्षबाट फल दिन सुरु गर्छ । उत्पादित सुन्तलालाई भण्डारण गरेर बेसिजनमा महँगोमा बिक्री गर्न मालारानी गाउँपालिकाले वडा ५ को बाँगीमा एक सय टन र वडा २ को डाँडाखर्क, वडा ३ को कुनाखर्क र वडा ६ को रतनमारेमा दस/दस टन क्षमताका कोल्डस्टोर निर्माण गरेको छ ।

पाणिनि गाउँपालिकाले पोखराथोकमा ३ सय टन क्षमताको कोल्ड स्टोर निर्माण गरेको छ । कृषकले सुन्तला स्टोरमा राखेर बेसिजनमा बिक्री गर्ने गरेका छन् । बोटमा ५० रुपैयाँमा बिक्री हुने सुन्तला स्टोरमा राखेर बेसिजनमा बिक्री गर्दा किलोको १ सय २० रुपैयाँसम्म मुल्य परेको छ । ‘सुन्तला खेती भएको ठाउँमा उत्पादन बढाउन कृषकलाई आवश्यक सहयोग, विरुवा उत्पादनमा लगानी गरेका छौं,’ मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले भने, ‘युवालाई सुन्तलाबाटै गाउँमा स्वरोजगार बनाउने गरी लागेका छौं ।’ गुल्मीको धुर्कोट गाउँपालिका–२ पीपलधाराका ५२ वर्षीय केशव खनाल र शिक्षक विष्णुप्रसाद खनालबीच कसले बोटमा लटरम्मै ठूला दाना फलाउने भन्ने प्रतिस्पर्धा चल्छ । विष्णुप्रसादको अहिले १२ सय ५० सुन्तलाका बोट छन् । तीमध्ये ६ सय बोटले उत्पादन दिन्छन् । एउटा बोटले ५० वर्षसम्म फल दिइरहन्छ । मलजल गरेको ठूलो एउटै बोटमा ५० हजार रुपैयाँसम्मका सुन्तला फल्छन् । असिना परेन र रोग लागेन भने राम्रो फल दिने उनले बताए । ‘पहिला मकै, कोदो, गहुँ, धान खेती गर्ने प्रतिस्पर्धा थियो,’ कृषक हरि थापाले भने, ‘अहिले खेतबारी मासेर सुन्तला रोप्न तँछाडमछाँड छ । भविष्य सुन्तलाकै छ ।’

बोट हुर्काएपछि हिउँदमा सिंचाइ र मल राखेपछि फल्ने बेलामा स्याहार गरे पुग्छ । तराईबाट घरमै व्यापारी आउँछन् । कृषि विकास बैंकको जागिर छाडेर सुन्तला खेतीमा लागेका उनी सबै खर्च कटाएर वर्षमा एक लाख रुपैयाँ बैंक बचत गर्छन् । बोटमा कसले कति ठूला दाना र लटरम्मै फलाउने भन्नैमै कृषकबीच होडबाजी हुने उनले बताए । धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले सुन्तला उत्पादनको केन्द्र बनाउन १ सय बोट लगाएबापत तीन वर्षसम्म प्रतिबोट ४० रुपैयाँका दरले कृषकलाई अनुदान उपलब्ध गराइएको बताए । ‘कस्तो माटोका फल्छ, के गरेर ठूला दाना फल्छन्, रोगबाट कसरी बचाउने भन्नेमै हाम्रो ध्यान छ,’ उनले भने । गुल्मीका १२ स्थानीय तहमध्ये धुर्कोटमा धेरै सुन्तला उत्पादन हुन्छन् । मदानेको भनभने, चन्द्रकोटको वडा ५ र ६, कालीगण्डकीको २ र ३, छत्रकोटको ३ र ४ गाउँपालिकामा सुन्तला उत्पादन हुन्छ । त्यस्तै रेसुंगा र मुसिकोट नगरपालिकाका केही गाउँमा पनि सुन्तला फल्छन् । पाल्पाको मुझुङ, पालुङमैनादी, भुवनपोखरीलगायतका स्थानमा सुन्तला खेती हुन्छ । अमलावासका विष्णुप्रसाद कोइरालाले ४० वर्षदेखि गाउँमा सुन्तला खेती गर्दै आएको बताए । ‘फूल फुल्ने बेला असिनाबाट जोगियो र मलजल राम्रोसँग भयो भने सुन्तलाका दाना ठूला र लटरम्मै फल्दा किसानको मुहार उज्यालो हुन्छ,’ उनले भने, ‘बर्सेनि फल दिइरहन्छ । दाना बोटबाटै बिक्री हुन्छ, त्यसैले घरमै बसेर रेखदेख र स्याहारसुसार गरेपछि मनग्य आम्दानी हुन्छ ।’

रोककिरा, असिनाबाट बचाउन सके राम्रो आम्दानी हुने उनले बताए । उनका अनुसार युवाहरू सुन्तला खेतीप्रति आकर्षित छन् । अन्नखेती नहुने पाखोबारीमा सुन्तला खेतीले गाउँ स्वरोजगार उन्मुख भएको छ । कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार गत आर्थिक वर्षमा ८ सय ५३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जिल्लामा ५ हजार ६ सय ६० मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान छ । यसबाट जिल्लामा १० करोड बढी नगद भित्रिने गरेको छ । गुल्मीमा गत वर्षभन्दा १२ दशमलव ४ प्रतिशत उत्पादन वृद्धि भएको र यसबाट १० करोड ८० लाख ३५ हजार रुपैयाँ भित्रिएको ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । अर्घाखाँचीमा ४ सय ९४ हेक्टर क्षेत्रफलमा ४ हजार ८ सय २८ मेट्रिक टन सुन्तला फल्यो । यस वर्ष २४ करोड १४ लाख रुपैयाँको कारोबार भयो । समशितोष्ण हावापानी, चिसो, घमाइलो, हिउँद ओसिला, ग्रीष्म तथा तातो हावा नचल्ने मध्य पहाडको ८ देखि १५ सय मिटर उचाइमा फुल्न, फल्न र स्वादिलो फल उत्पादन गर्न उपयुक्त मानिन्छ । ‘हल्का बलौटे र चिम्ट्याइलो माटोमा राम्रो फल्छ तर कम्पोस्ट मलबाट पनि माटो सुधारेर खेती गर्न सकिन्छ,’ कृषि ज्ञान केन्द्र अर्घाखाँचीका कृषि अर्थविज्ञ महेन्द्रकुमार ओझाले भने । सुन्तलाका बोटको आयु अधिकतम् ८० र न्यूनतम ४५ वर्ष हुने विज्ञहरू बताउँछन् ।     

( कान्तिपुर दैनिक )