News Desk
धनगढी — ०८ चैत्र २०७८
धनगढी , कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले केही दिनअघि स्थानीय तहको निर्वाचन प्रचारका क्रममा सुदूरपश्चिममा सत्तारूढ दलहरूले उल्टै कांग्रेसलाई पेलिरहेको बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै लड्ने हो । कसैसँग गठबन्धन हुँदैन ।’ कांग्रेसले सुरुमा प्रदेश सरकारको नेतृत्वमै आकांक्षा राखेको थियो । तर हालसम्म सरकारमासमेत सहभागी नगराइएकामा बलायरको माओवादी केन्द्र र समाजवादीप्रति आक्रोश थियो । केन्द्रमा कांग्रेससहितको गठबन्धन सरकार बनेदेखि यस प्रदेशमा कांग्रेस आफू पनि सरकारमा सहभागी हुनुपर्ने दाबी गर्दै आएको हो । तर हालसम्म कुनै औपचारिक छलफल नभएको सत्तारूढ दलका नेताहरूले बताएका छन् । कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले माथिल्लो तहका नेताहरूले एक प्रकारको कुरा गर्ने गरेको भए पनि सुदूरपश्चिममा भने कुनै अनुभूति नै नभएको बताए । सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस तेस्रो ठूलो दल हो ।
अघिल्लो साता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिममा कांग्रेसलाई पनि सहभागी गराउने कुरा भएको बताएका थिए । दाहालले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई समेट्ने कुरा चलिरहेको छ ।’ कांग्रेसलाई सरकारमा सहभागी गराइएको अवस्थामा एकीकृत समाजवादीले केही मन्त्री फिर्ता बोलाएर त्याग गर्नुपर्ने उनले बताएका थिए । नेकपा (एकीकृत समाजवादी) की प्रमुख सचेतक दुर्गाकुमारी कामीले हालसम्म त्यस सम्बन्धमा औपचारिक छलफल नभएको बताइन् । उनले भनिन्, ‘कांग्रेसलाई सरकारमा सहभागि गराउने कुरामा त लगभग सबैको समान धारणा छ । औपचारिक छलफल भएको छैन ।’ माओवादीका सचेतक अक्कलबहादुर रावलले पनि कांग्रेसलाई सरकारमा सामेल गराउने भए पनि औपचारिक छलफल भने नभएको बताए । हाल यहाँको प्रदेश सरकारमा माओवादी केन्द्रको नेतृत्वमा एकीकृत समाजवादीसहितको सयुक्त सरकार छ । केन्द्रीय गठबन्धनमा रहेको कांग्रेस बाहिर छ । मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्री, दुई जना मन्त्री र एक राज्यमन्त्री गरी ४ जना एकीकृत माओवादी र ४ जना मन्त्री र ३ राज्यमन्त्री गरी ७ जना एकीकृत समाजवादीबाट सरकारमा छन् ।
कांग्रेसले विगतदेखि नै सरकारमा सहभागी हुन लविङ गरिरहेको थियो । हाल ५२ सदस्यीय प्रदेश सभामा समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२, जसपा र लोसपाका एकएक सांसद छन् । सुदूरपश्चिममा प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतले (एकीकृत समाजवादी) आफ्नो दलले नेतृत्व पाउनु पर्ने दाबी गर्दै आएको थियो । तर हालै धनगढीमा आएर दाहालले सुदूरपश्चिममा मुख्यमन्त्री दिन तयार रहेको तर वाग्मतीमा आफ्नो दलले मुख्यमन्त्री पाउनु पर्ने बताएपछि त्यो च्याप्टर बन्द भएको छ । ‘माधवजीले सुदूरपश्चिममा आफ्नो दलले मुख्यमन्त्री पाउनु पर्ने कुरा राख्नुभएको छ,’ दाहालले भनेका थिए ‘बागमतीमा हामीलाई छाड्ने भए सुदूरपश्चिममा जुनसुकै बेला छाड्न तयार छौं भनेको छु ।’ उनले कांग्रेस, माओवादी र समाजवादीले दुई–दुई प्रदेश र मधेस प्रदेश जसपाले लिने समझदारी भए अनुसार बाँडफाँट गरिएको बताएका थिए ।