News Desk
तिलोत्तमा — ०९ चैत्र २०७८
तिलोत्तमा , रूपन्देहीको तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण (आईएसओ ९००१ : २०१५ सर्टिफाइड) नगरपालिका घोषणा भएको छ । कार्यसम्पादनका ३० वटा सूचक पूरा गरेर तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण हुने मुलुककै पहिलो पालिका बनेको हो । नगरपालिकामा मंगलबार आयोजित कार्यक्रममा आईएसओ सर्टिफिकेसन नेपालका निर्देशक सुदीप शर्माले पालिकालाई गुणस्तर प्रमाणीकरण पालिका घोषणाको प्रमाणपत्र प्रदान गरेका छन् । शर्माले तिलोत्तमालाई युनाइटेड एग्रिगेसन फाउन्डेसन (यूएएफ) अमेरिकाले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित गरेको जानकारी दिए ।
‘हामीले तोकेका सबै सूचकलाई जनप्रतिनिधि, कर्मचारी र नागरिक तहबाट पूरा गरेको देखियो,’ उनले भने । ५ वर्षमा नगरका सबै वडामा आफ्नै भवन, वडास्तरीय स्वास्थ्य केन्द्र, १५ शय्याका ३ वटा अस्पताल स्थापना भएका छन् । पालिकामा रहेका हरेक कार्यकक्षमा आगो नियन्त्रक, शौचालयको सुविधा तथा सरसफाइको व्यवस्था गरिएको छ । नगरले पहिलो ३ महिनामै ११३ वटा ऐन बनाएको थियो । नगर प्रमुख घिमिरेका अनुसार २०७७ मा सहरी सुशासन र २०७८ मा सामाजिक विकासको क्षेत्रमा मुलुकभरिका पालिकामध्ये तिलोत्तमा उत्कृष्ट घोषित भएको थियो ।