News Desk
तनहुँ — ०९ चैत्र २०७८
तनहुँ ,नेपालको गरिबी अन्त्यका लागि एमसीसी परियोजना पास गरिएको भन्दै नेता पौडेलले एमसीसीको विरोध गर्नेहरू राष्ट्रघाती भएको आरोप लगाएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले घरघरमा गएर जनतालाई एमसीसीको बारेमा बुझाउनुपर्ने बताएका छन् । उनले भने, ‘एमसीसीबारे झुट्टा प्रचार गरेर देशलाई पछि पार्न खोजिँदै छ ।’ नेपाली कांग्रेसको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’, अभियान अन्तर्गत बन्दिपुरमा मंगलबार आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले जनतालाई एमसीसीबारे सत्यतथ्य बुझाएर कांग्रेसले भोट माग्नुपर्ने बताएका हुन् ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) के हो र नेपालको विकासका निम्ति एमसीसी कति आवश्यक छ भन्नेबारे जनतालाई बुझाउन आवश्यक रहेको उनले बताए । पौड्लले भने, ‘नेपालको विकासका लागि कांग्रेसले एमसीसी पास गर्यो, त्यही कारणले कांग्रेसलाई भोट देऊ भनेर जनतामाझ जानुपर्छ ।’ कम्युनिस्ट दलका नेताहरूले एमसीसीबारे भ्रम फैलाएको भन्दै कांग्रेसका अन्य नेताहरूले पनि एमसीसीबारे सत्यतथ्य जनतामाझ भन्नुपर्ने प्रतिक्रिया दिने गरेका छन् ।