नागरिक समाज संस्थाहरु बीच अनुभव तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न
News Desk
Mar-23 , 2022 तारिख 04:07 बेलुका

 ललितपुर । मानव अधिकार संचार प्रतिष्ठान नेपालको आयोजना र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा ललितपुरको समन्वयमा नागरिक समाज संस्थाहरु बीच अनुभव तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल नागरिक समाजका अगुवाहरु, स्थानीय तहका जनप्रतिनिधिहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । ललितपुर भित्र क्रियाशिल नागरिक समाज संघ संस्थाहरुको तर्फबाट आमा मिलन केन्द्र, छोरी, शान्ति नेपाल, अन्तर धार्मिक राष्ट्रिय संजाल र इह्रिकन सहित पाँच वटा संस्थाहरुले आफ्नो संस्थाको विषयमा परिचय, उद्देश, कार्यक्षेत्र, हाल सम्पन्न कार्यक्रमहरु, भावी कार्ययोजना, संस्थाको गतिविधिले पारेको प्रभाव, सिकाई, चुनौतिहरु, उपलब्धीहरु, सहित प्रत्येक संस्थाले प्रस्तुतिकरण गरेका थिए ।

प्रस्तुतिकरण प्रश्चात कार्यक्रममा गैसस महासंघ जिल्ला शाखा ललितपुरका अध्यक्ष टिकाराम दाहालले यस्ता सिकाई तथा अनुभव आदान प्रदान कार्यक्रमहरुले अझै नागरिक समाज संघ संस्थाहरुलाई काम गर्न र अगाडि बढ्न थप हौसला, प्रेरणा मिल्ने र एक आपसमा हातेमालो गरेर अगाडि बढ्दै जान सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

साथै, कार्यक्रमको सभाध्यक्ष गरेकी इह्रिकनका अध्यक्ष मीना शर्माले समान उद्देश्य लिएर समाजमा क्रियाशिल संघ संस्थाहरु बीच सिकाई अनुभव आदान प्रदान कार्यक्रमले एक आपसमा जान्ने बुझ्ने र संस्थाहरु बीच समन्वय सहकार्य गर्न सहज हुने बताईन् । साथै उनले एकले गरेको कार्यक्रममा अर्कोले साथ सहयोग गर्ने र एक आपसमा हातेमालो गरेर अगाडि बढ्न मद्दत पुग्ने कुरा व्यक्त गर्दै परियोजना प्रश्चात पनि इह्रिकनले सामाजिक संस्थाहरुसँगहरुसँगसँगै हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन ।